
कालिकञ्चोक दर्शनको वित्तीय अवस्था : खुद नोक्सानी बढ्दै, अन्य सूचक कस्ता ?
कालिकञ्चोक दर्शन लिमिटेडको नोक्सानी बढ्दै गएको छ । गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु आर्थिक वर्षको तीन महिनामा नोक्सानी बढेको हो ।
चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको नोक्सानी ४५ लाख ९६ हजार रुपैयाँ पुगेको छ । यस्तो नोक्सानी गत आर्थिक वर्षको पहिलो तीन महिनामा ३३ लाख ८६ हजार रुपैयाँ रहेको थियो । यस नोक्सानीको मुख्य कारण यस वर्षको वर्षायाममा भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा यसले पर्यटन आगमनमा पारेको प्रत्यक्ष नकारात्मक प्रभाव भएको वित्तीय विवरणमा उल्लेख छ । बाढीका कारण सडक सञ्जाल अवरुद्ध हुँदा पर्यटकहरूको आवागमन घटेको र कम्पनीको केबलकार तथा अन्य व्यावसायिक गतिविधिहरू नियमित रूपमा सञ्चालन हुन नसकेको व्यवस्थापनले जनाएको छ ।
समीक्षा अवधिमा कम्पनीको सञ्चालनबाट हुने आम्दानी घटेर ४२ लाख ३२ हजार रुपैयाँमा सीमित भएको छ । जुन गत वर्षको सोही अवधिमा ७२ लाख ८७ हजार रुपैयाँ रहेको थियो । सञ्चालन मुनाफातर्फ पनि कम्पनी ६३ लाख ५४ हजार रुपैयाँ ऋणात्मक अवस्थामा पुगेको छ । कम्पनीको चुक्ता पुँजी ६३ करोड रुपैयाँ रहेको छ भने जगेडा तथा कोषमा ५ करोड ३५ लाख रुपैयाँ सञ्चित रहेको छ । वित्तीय परिसूचकहरूका आधारमा कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी २ रुपैयाँ ९२ पैसा ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ १०८ रुपैयाँ ५० पैसा र प्रतिसेयर कुल सम्पत्तिको मूल्य १२० रुपैयाँ ५६ पैसा कायम भएको छ ।


