
सुदूरपश्चिमको दोस्रो जित, चितवन ५ विकेटले पराजित
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले दोस्रो जित निकालेको छ । भर्खरै सम्पन्न खेलमा सुदूरपश्चिमले चितवन राइनोजलाई ५ विकेटले हराएको हो । १३१ रनको लक्ष्य सुदूरपश्चिमले १६.४ ओभरमा ५ विकेट गुमाएर भेट्टायो ।
ब्रान्डन म्याकमुलनले ४३, ईशान पाण्डेले २५ रन जोड्दा आरिफ शेख २० तथा शेर्फन रुदरफोर्ड २१ रनमा अविजित रहे ।बलिङतर्फ चितवनका रञ्जित कुमारले तीन तथा रिजन ढकाल र मौसम ढकालले एक–एक विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङ थालेको चितवनले २० ओभरमा ६ विकेटको क्षतिमा १२९ रन जोड्यो । रवि बोपाराले सर्वाधिक ४९ रनको योगदान दिए । यस्तै, विवेक यादवले १७, डेविड मलानले १६ तथा अर्जुन साउद र सिकन्दर रजाले १५–१५ रन जोडे ।
बलिङतर्फ सुदूरपश्चिमका स्कट कुगलेइनले दुई तथा हेमन्त धामी, दीपेन्द्र सिंह ऐरी र अनिल खरेलले एक–एक सफलता हात पारे ।
चारमध्ये सुदूरपश्चिमले दुई हार तथा दुई जितको नतिजा निकाल्दा चितवनले तीन खेलमा एक खेल जित्दा एक खेलमा पराजय बेहोरेको छ । लुम्बिनीसँगको एक खेल भने रद्द भएको थियो ।


