
शाइन रेसुङ्गा बैंकको नाफा घट्यो, अन्य सूचक कस्ता ?
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफा १९ करोड ७६ लाख रुपैयाँमा सीमित रहेकोे छ । गत आवको सोही अवधिमा बैंकले २० करोड ३० लाख रुपैयाँ नाफा कमाएको थियो।
बैंकले सार्वजनिक गरेको अनअडिटेड विवरणअनुसार पूँजीकोष अनुपात घटेको र निष्क्रिय कर्जा अनुपात बढेको छ।
बैंकको खुद नाफा गत आवको सोही अवधिको तुलनामा २.६६ प्रतिशतले घटेर छ ।
समीक्षा अवधिमा ब्याज आम्दानी ७.८४ प्रतिशतले घटेर १ अर्ब ३९ करोड २८ लाख रुपैयाँ भएको छ । ब्याज खर्च १५.६८ प्रतिशतले घटेर ७३ करोड ३ लाख रुपैयाँ भएकाले खुद ब्याज आम्दानी २.६९ प्रतिशतले बढेर ६६.२६ करोड रुपैयाँ पुगेको छ ।
खुद शुल्क तथा कमिसन आम्दानी २३.३६ प्रतिशतले बढेर ८ करोड ७८ लाख रुपैयाँ भएको छ । कर्जा तथा अन्य नोक्सानी व्यवस्था २१.४८ प्रतिशतले घटेर १२ करोड २० लाख रुपैयाँमा सीमित हुँदा खुद सञ्चालन आम्दानी ८.५७ प्रतिशतले बढेर ६३ करोड ५२ लाख रुपैयाँ पुगेको छ ।
तर सञ्चालन खर्च १९.६२ प्रतिशतले बढेर ३५ करोड २९ लाख रुपैयाँ (अघिल्लो वर्ष २९.५० करोड) पुगेको छ। कर्मचारी खर्च १९.६८ प्रतिशतले बढेर २३ करोड ५९ लाख र अन्य सञ्चालन खर्च ४४.९६ प्रतिशतले बढेर ९ करोड ९५ करोड रुपैयाँ भएको छ ।
ह्रास कट्टी भने ४०.३८ प्रतिशतले घटेर १ करोड ७४ लाख रुपैयाँ भएको छ। खर्च बढेसँगै सञ्चालन नाफा २.६७ प्रतिशतले घटेर २८ करोड २३ लाख रुपैयाँमा सीमित भएको छ ।
कर्जाको गुणस्तरतर्फ निष्क्रिय कर्जा अनुपात ४.६१ प्रतिशतबाट बढेर ४.७१ प्रतिशत पुगेको छ। कुल कर्जा नोक्सानी व्यवस्था र निष्क्रिय कर्जाको अनुपात ९५.२५ प्रतिशतबाट घटेर ९२.२५ प्रतिशतमा झरेको छ।
यो अनुपात १०० प्रतिशतभन्दा कम भएकाले निष्क्रिय कर्जाको पूर्ण रकमबराबर व्यवस्था नभएको देखिन्छ ।
पूँजी पर्याप्तताको सूचकमा पनि गिरावट देखिएको छ। पूँजीकोष अनुपात १४.२२ प्रतिशतबाट १२.५५ प्रतिशतमा र प्राथमिक पूँजी १ अनुपात ११.१५ प्रतिशतबाट ९.७४ प्रतिशतमा झरेका छन् । कुल इक्विटी असार मसान्तको तुलनामा ४.१३ प्रतिशतले घटेर ७ अर्ब ६३ करोड रुपैयाँ भएको छ ।
वितरणयोग्य नाफा ५ करोड ५४ लाख रुपैयाँ रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ६९ करोड ६५ लाख रुपैयाँ थियो।
सञ्चित नाफा ८१.४० करोड रुपैयाँबाट ३० करोड १३ लाख रुपैयाँ बोनस सेयर ५० करोड २२ लाख रुपैयाँ नगद लाभांशबापत रकम घटाइएको छ । चुक्ता पुँजी ५अर्ब २ करोडबाट ५ अर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ ।
बैंकको वार्षिक आरओई १०.८९ प्रतिशतबाट १०.१४ प्रतिशत र १.०० प्रतिशतबाट ०.९० प्रतिशतमा झरेको छ । प्रतिसेयर आम्दानी१६.६६ रुपैयाँबाट १४.८५ रुपैयाँ भएको छ ।
ब्याजदर अन्तर ४.०१ प्रतिशतबाट ३.८७ प्रतिशतमा झरेको छ । कोषको लागत ४.५५ प्रतिशतबाट ३.५२ प्रतिशत र आधार दर ६.४४ प्रतिशतबाट ५.३९ प्रतिशतमा झरेको छ । प्रतिसेयर नेटवर्थ १४३.३५ रुपैयाँ र पीई अनुपात २८.१५ गुणा छ ।
असोज मसान्तमा निक्षेप ७९ अर्ब १२ करोड रुपैयाँ (असार मसान्तको तुलनामा १.६२ प्रतिशतले बढी) र ग्राहक कर्जा ६५ अर्ब ३१ करोड रुपैयाँ (३.३१ प्रतिशतले बढी) पुगेको छ । लगानी १६.७९ प्रतिशतले घटेर १४ अर्ब ३४ करोड रुपैयाँ भएको छ। कर्जा÷निक्षेप अनुपात ८४.३१ प्रतिशतबाट ८५.१४ प्रतिशत पुगेको छ।


