
नेपाल एसबीआई बैंकको नाफा ५५ करोड २२ लाख, कस्ता छन् अन्य सूचक ?
काठमाडौं । नेपाल एसबीआई बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनाको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आवको असोज मसान्तसम्म बैंकले ५५ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आवको तुलनामा १०.१० प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बैंकले ५० करोड १६ लाख रुपैयाँ नाफा अआर्जन गरेको थियो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.७१ प्रतिशतले घटेर १ अर्ब २६ करोड ९७ लाख रुपैयाँमा झरेको छ। गत आवको सोही अवधिमा बैंकले १ अर्ब ३१ करोड ८७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । बैंकको सञ्चालन नाफा ७८ करोड ३४ लाख रुपैयाँ पुग्दा करअघिको नाफा ७८ करोड ८८ लाख रुपैयाँ पुगेको छ । बैंकले शुल्क तथा कमिसनबाट ३६ करोड ७० लाख रुपैयाँ खुद आम्दानी गरेको छ भने धितोपत्र तथा अन्य कारोबारबाट ११ करोड १४ लाख रुपैयाँ आर्जन गरेको छ।
बैंकको कुल सञ्चालन आम्दानी १ अर्ब ७६ करोड ५८ लाख रुपैयाँ कायम भएको छ । बैंकको २ खर्ब १२ अर्ब ८२ करोड ६४ लाख रुपैयाँ रहेको कुल निक्षेप संकलन १२.५५ प्रतिशतले बढेर २ खर्ब ३९ अर्ब ५२ करोड ९३ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, ग्राहकलाई प्रवाह गरिएको कर्जा तथा सापट २.५४ प्रतिशतले बढेर १ खर्ब ५० अर्ब ५० करोड रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा बैंकले १ खर्ब ४६ अर्ब ७७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।
बैंकको निष्क्रिय कर्जा अनुपात चालु आव बढेर ३.१९ प्रतिशत पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी वार्षिक १९.४९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १९९.६६ रुपैयाँ पुगेको छ।


