
वाणिज्य बैंकहरूको नाफा ४५ प्रतिशतले बढ्यो, पहिलो तीन महिनामा १९ अर्ब १४ करोड कमाए
काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकसम्मको अवधिमा वाणिज्य बैंकहरुको नाफामा उच्च वृद्धि देखिएको छ । सञ्चालनमा रहेका वाणिज्य बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नफामा ४५ प्रतिशत भन्दा बढीले बढेको हो ।
चालु आवको असोज मसान्तसम्मको अवधिमा २० वटा वाणिज्य बैंकले १९ अर्ब १४ करोड ५४ लाख ७३ हजार रुपैयाँ नाफा आर्जन गरेका छन् । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५.५९ प्रतिशतले बढी हो । गत आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनाको अवधिमा वाणिज्य बैंकहरूले १३ अर्ब १४ करोड ९८ लाख २३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका थिए ।
नाफामा नबिल अग्रस्थानमा
समीक्षा अवधिमा सबै भन्दा धेरै नाफा कमाउने बैंकको शिर्ष स्थानमा नबिल बैंक रहेको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्मको अवधिमा २ अर्ब ५५ करोड ५१ लाख ५ हजार रुपैयाँ खुद नाफा कमाएको हो । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५.४२ प्रतिशतले बढी हो । त्यस्तै, समीक्षा अवधिमा ग्लोबल आइएमई बैंकले २ अर्ब ३१ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाउँदै दोस्रो स्थानमा रहेको छ । बैंकको नाफा गत वर्षको तुलनामा २४.४८ प्रतिशतले बढेको हो । समीक्षा अवधिमा एभरेष्ट बैंकले १ अर्ब २५ करोड २७ लाख १९ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । त्यस्तै प्राइम बैंकले १ अर्ब १८ करोड ७६ लाख ५७ हजार रुपैयाँ नाफा कमाउँदा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि)ले १ अर्ब १८ करोड १४ लाख २१ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
समीक्षा अवधिमा एनएमबि बैंकले १ अर्ब १६ करोड ४२ लाख ८२ हजार रुपैयाँ, सानिमा बैंकले १ अर्ब ५ करोड १४ लाख ६८ हजार रुपैयाँ र कुमारी बैंकले १ अर्ब ७ करोड ४५ लाख ५ हजार रुपैयाँ नाफा कमाएका छन् ।
वृद्धिका आधारमा एनआईएमबिको शिर्ष स्थानमा
समीक्षा अवधिमा नाफा वृद्धिदरका आधारमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक सबैभन्दा अघि देखिएको छ । बैंकको खुद नाफा गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा २५२२.४६ प्रतिशतले बढेको हो । गत वर्षको पहिलो त्रैमासिकमा ४ करोड ५० लाख ५० हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको बैंकले चालु आर्थिक वर्षको सोही अवधिमा १ अर्ब १८ करोड १४ लाख २१ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।
समीक्षा अवधिमा राष्ट्रिय वाणिज्य बैंकको नाफा १७५.५२ प्रतिशतले बढेर १ अर्ब ६४ करोड ९६ लाख ३७ हजार रुपैयाँ पुगेको छ । सिद्धार्थ बैंकको खुद नाफा १६२.७५ प्रतिशतले बढेर ८५ करोड १५ लाख ६५ हजार रुपैयाँ पुगेको छ भने सानिमा बैंकको नाफा १३१.१३ प्रतिशतले बढेको छ । लक्ष्मी सनराइज बैंकले पनि नाफामा उल्लेख्य सुधार गर्दै ६५ करोड ३३ लाख ८५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको नाफा गत वर्षको तुलनामा ९६.६ प्रतिशतले बढेको हो ।
अधिकांश बैंकको नाफा वृद्धि हुँदा तीन वटाको घट्यो
समीक्षा अवधिमा अधिकांश वाणिज्य बैंकले नाफा बढाएका छन् । समीक्षा अवधिमा २० वटा वाणिज्य बैंकमध्ये १७ वटाको नाफा बढेको छ भने ३ वटाको घटेको छ । समीक्षा अवधिमा नेपाल बैंकको खुद नाफा ४१.४५ प्रतिशतले बढेर ८३ करोड २१ लाख ८७ हजार रुपैयाँ पुगेको छ । माछापुच्छ्रे बैंकको नाफा ३१.८६ प्रतिशतले बढेर ५५ करोड ११ लाख ५१ हजार रुपैयाँ पुगेको छ ।
त्यस्तै, एनएमबि बैंकको नाफा २७.१० प्रतिशतले बढेको छ भने नेपाल एसबिआई बैंकको नाफा १०.०९ प्रतिशतले बढेर ५५ करोड २२ लाख १५ हजार रुपैयाँ पुगेको छ । त्यस्तै प्रभु बैंकको खुद नाफा ८.१० प्रतिशतले बढेर ६० करोड ३७ लाख २१ हजार रुपैयाँ पुगेको छ भने एभरेष्ट बैंकको नाफा ६.२२ प्रतिशतले बढेको छ ।
एनआइसी एशिया बैंकको नाफा भने सामान्य वृद्धि भएको छ । बैंकले पहिलो त्रैमासमा १२ करोड ७४ लाख ४२ हजार रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत वर्षको तुलनामा ४.३२ प्रतिशतले बढी हो । समीक्षा अवधिमा तीन वटा वाणिज्य बैंकको खुद नाफा घटेको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा २.९९ प्रतिशतले घटेर ६७ करोड १४ लाख ४४ हजार रुपैयाँमा सीमित भएको छ । त्यस्तै, प्राइम बैंकको खुद नाफा ५.६२ प्रतिशतले घटेर १ अर्ब १८ करोड ७६ लाख ५७ हजार रुपैयाँ र हिमालयन बैंकको नाफा ६.८३ प्रतिशतले घटेर ६५ करोड ४८ लाख ३१ हजार रुपैयाँ कायम भएको छ ।
यता, सिटिजन्स बैंक भने गत वर्षको पहिलो त्रैमासको नोक्सानीबाट नाफामा फर्किएको छ । गत वर्षको सोही अवधिमा २२ करोड ४ लाख ११ हजार रुपैयाँ खुद नोक्सानीमा रहेको बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १० करोड ७७ लाख ३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।


