
सुनको मूल्य सस्तीदै : एक सातामा ९ हजार ९०० रुपैयाँ घट्यो तोलाको कति ?
काठमाडौं । पछिल्लो समय सुनको मूल्य घटी रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पछिल्लो एक साताको अवधिमा मात्रै नेपाली बजारमा सुनको मूल्य करिब १० हजार रुपैयाँले सस्तो भएको हो ।
महासंघका अनुसार, गत कात्तिक ६ गते नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ लाख ९० हजार २०० रुपैयाँमा कारोबार भएको थियो । एक हप्तापछि कात्तिक १३ गतेसम्म आइपुग्दा सुनको मूल्य ९ हजार ९०० रुपैयाँले घटेर २ लाख ८० हजार ३०० रुपैयाँमा कायम भएको छ । महासंघका अनुसार, गत कात्तिक ८ गते आइतबार एकैदिन सुनको मूल्य ११ हजार ७०० रुपैयाँले घटेको थियो । सो दिन सुन प्रतितोला २ लाख ७८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, कात्तिक ९ गते सोमबार भने सुनको मूल्य बढ्यो । त्यो दिन सुन प्रतितोलामा ३ हजार रुपैयाँले बढेर २ लाख ८१ हजार ५०० रुपैयाँमा किनबेच भयो ।
त्यस्तै, कात्तिक १० गते मंगलबार पनि सुनको मूल्य ८०० रुपैयाँले बढेर कारोबार भयो । उक्त दिन सुन प्रतितोला २ लाख ८२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, कात्तिक ११ गते बुधबार पनि सुनको मूल्य बढ्ने क्रम चलिरह्यो । उक्त दिन अघिल्लो दिनको तुलनामा ९०० रुपैयाँले बढेको सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भयो ।
त्यस्तै, कात्तिक १२ गते बिहीबार पनि सुनको मूल्य ३०० रुपैयाँले बढेर प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको यियो । साताको अन्तिम दिन शुक्रबार भने सुन प्रतितोलामा ३ हजार २०० रुपैयाँले घटेर २ लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।


