
दशैंँ पछिको पहिलो साता : नेप्सेमा २ प्रतिशत बढीको वृद्धि, औषत कारोबार कति ?
काठमाडौं । दशैँ बिदा पछिको पहिलो साता नेप्से परिसूचक २ प्रतिशतभन्दा बढी बढेर बन्द भएको छ । दशैँ अघि २६३४.१७ विन्दुमा बन्द भएको नेप्से, यस साता २.१३ प्रतिशत अर्थात ५५.९८ अंक बढेर २६९०.१५ विन्दुमा बन्द भएको हो ।
यस साता पाँच कारोबार दिनका लागि बजार खुलेको थियो । जसमा तीन कारोबार दिन नेप्से बढेर बन्द भएको थियो भने दुई कारोबार दिन सामान्य अंक घटेको थियो । यस साता फ्लोट इण्डेक्स २.०३ प्रतिशत बढेको थियो भने सेन्सेटिभ इण्डेक्स २.१३ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१९ प्रतिशत बढेको छ । नेप्सेसँगै यस साता कारोबार रकम पनि बढेको छ । दशैँ अघिको अन्तिम साता दैनिक औषतमा ४ अर्ब ५८ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ६ अर्ब ९४ करोड रुपैयाँको सेयर किनबेच भएको छ । अघिल्लो साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ५१.३९ प्रतिशत बढी हो । त्यस्तै, यस साता दैनिक औषत सेयर संख्या ४०.४३ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या ३९.९६ प्रतिशत बढेको छ ।
यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि २ प्रतिशतभन्दा बढी बढेको छ । दशैँ अघिको अन्तिम कारोबार दिन ४५ खर्ब ३४ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ९६ अर्ब रुपैयाँ बढेर ४६ खर्ब ३० अर्ब रुपैयाँ पुगेको छ । दशैँ बिदा पछिको पहिलो साता १३ वटै उपसमूहको परिसूचक बढेको छ । यस साता जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ३.७८ प्रतिशत बढेको छ। अघिल्लो साता ३५६१.८७ विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक, यस साता १३४.८१ अंक बढेर ३६९६.६८ विन्दुमा पुगेको छ । त्यस्तै, यस साता अन्य उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ ।
अंकका आधारमा भने यस साता जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १४८.७१ अंक बढेको छ। दशैँ अघि ६९१३.३८ विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक, यस साता २.१५ प्रतिशत बढेर ७०६२.०९ विन्दुमा पुगेको छ।


