
रास्वपाले भन्यो: पत्रकारमाथि भइरहेको धरपकडबारे सरकारले स्पष्ट पारोस्
काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पत्रकार तथा सञ्चारकर्मीमाथि भइरहेको सोधपुछ, धरपकड र पक्राउका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । यस शृङ्खलाबद्ध घटनाको विषयमा यथार्थ स्पष्ट पार्न पार्टीले सरकारसँग मागसमेत गरेको छ । रास्वपाका प्रवक्ता जगदिश खरेलले सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै सञ्चारमाध्यम र पत्रकारमाथि भइरहेको प्रहरी कारबाहीप्रति असन्तुष्टि जनाएका हुन् ।
उनले मौलिक अधिकारको रूपमा रहेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति आफ्नो पार्टीको उच्च सम्मान र जिम्मेवारीबोध रहेको स्पष्ट पारेका छन् ।
‘विभिन्न सञ्चारमाध्यमका पत्रकार तथा सञ्चारकर्मीलाई सोधपुछ, धरपकड तथा पक्राउको समाचार सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आइरहेकोप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को गम्भीर ध्यानाकर्षण भएको छ,’ प्रवक्ता खरेलले आफ्नो स्ट्याटसमा लेखेका छन्, ‘यसबारे स्पष्ट पार्न हामी सरकारको ध्यानाकर्षण गराउँछौँ ।’
समाचार लेखेकै वा सम्प्रेषण गरेकै आधारमा सञ्चारकर्मीलाई नियन्त्रणमा लिनु गलत भएको रास्वपाको ठहर छ । कुनै पनि पत्रकारलाई समाचारकै विषयलाई लिएर गैरकानुनी रूपमा पक्राउ गर्न नमिल्ने कुरामा पार्टी स्पष्ट रहेको उनले बताएका छन् । साथै, प्रकाशित समाचारको विषयमा चित्त नबुझे वा मर्का परे न्याय खोज्ने अन्य थुप्रै कानुनी र स्थापित बाटाहरू खुला रहेको भन्दै रास्वपाले तिनै वैधानिक बाटाहरू अवलम्बन गर्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।


