
बाढीले बगर बन्यो पाल्पाको ऐतिहासिक ‘रानीमहल’ क्षेत्र
काठमाडौं । गत असोज ११ गतेको अविरल वर्षापछिको बाढी र डुबानका कारण पाल्पाको ऐतिहासिक पर्यटकीय स्थल ‘रानीमहल’ परिसर बगरमा परिणत भएको छ ।
उत्तरवाहिनी कालीगण्डकी नदी किनारमा रहेको रानीमहलको आँगन, आसपासका सडक, पार्किङस्थल र व्यापारिक संरचनाहरू बालुवा, गिट्टी र ढुङ्गाले पुरिएका छन् ।
संरचना र बाटोघाटो क्षतिग्रस्त भएपछि दशैँको समयमा पर्यटकको आवागमन ठप्पप्रायः हुँदा स्थानीय व्यवसायी मर्कामा परेका छन्। स्थानीय व्यवसायीहरूले कर उठाउने स्थानीय सरकारले विपत्तिपछिको सरसफाइ र पुनःस्थापनामा ध्यान नदिएको गुनासो गरेका छन् ।
यता, तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले दरबार परिसरका क्षति हटाइसकिएको र बाँकी भाग बगनासकाली गाउँपालिकामा पर्ने बताए । बगनासकाली गाउँपालिकाकी अध्यक्ष सरस्वती चिदीले भने बाटो खुलाइसकिएको र दसैँ बिदा परेकाले बाँकी सफाइ तथा बगर सम्याउने काम १-२ दिनभित्रै डोजर प्रयोग गरी अघि बढाइने जानकारी दिइन् ।
विसं १९५४ मा तत्कालीन राणा कमाण्डर खड्ग शमशेरले दिवंगत पत्नी तेजकुमारीको सम्झनामा निर्माण गरेको रानीमहललाई ‘नेपालको ताजमहल’ भनेर समेत चिनिन्छ ।


