
भारतले दुई खेल बाँकी रहँदै जित्यो न्युजिल्यान्डविरुद्धको टी-२० सिरिज, अभिषेककाे शतक
काठमाडौं । भारतले न्युजिल्यान्डविरुद्धको पाँच खेलको टी-२० सिरिज दुई खेल बाँकी हुँदै ३-० ले जितेको छ। वैभव सूर्यवंशी र अभिषेक शर्माले विश्व कीर्तिमानी साझेदारी गरेपछि भारतले सिरिज कब्जा गरेको हो।
वेलिङटनमा भएको तेस्रो टी-२० खेलमा घरेलु टोली न्युजिल्यान्डले दिएको १ सय ९९ रनको लक्ष्य भारतले ४० बल बाँकी हुँदै ४ विकेट गुमाएर पूरा गर्यो।
सहज रुपमा १३.२ ओभरमै लक्ष्य पूरा गर्ने क्रममा वैभव र अभिषेकबीच ४३ बलमा १ सय ३३ रनको साझेदारी भएको थियो। भारतले ५ ओभरै शतक बनाएको थियो। यो कुनै पनि टिमले सर्वाधिक चाँडो शतक बनाएको कीर्तिमानसमेत हो।
भारतको जितमा अभिषेक शर्माले ३८ बलमा १ सय १३ रनको विष्फोटक शतकीय इनिङ्स खेले। उनले आफ्नो इनिङ्समा ९ चौका र ११ छक्का प्रहार गरेका थिए। शर्माले ३५ बलमा शतक प्रहार गरेका थिए। त्यस्तै, वैभव सूर्यवंशीले १९ बलमा ४ चौका र ४ छक्काको सहयोगमा ४५ रन बनाउँदा सञ्जु स्यामसनले १८ तथा कप्तान श्रेयस अय्यरले ५ रन बनाएका थिए।
त्यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ड्यारी मिचेलको ८९ रनको अविजित इनिङ्समा १ सय ९८ रनको प्रतिस्पर्धात्मक स्कोर बनाएको थियो। उनले ५२ बलमा ५ चौका र छक्काको सहयोगमा अविजित इनिङ्स खेले। उनीबाहेक बेभन ज्याकब २३ बलमा ४ चौका र १ छक्काको सहयोगमा ३९ रन बनाए। त्यस्तै, ग्लेन फ्लिप्सले १७ रन बनाउँदा फिन एलनले ४० रन बनाए।
यसअघिका सबै तीन खेलमा पनि भारत विजयी भएको थियो। भारतले दोस्रो खेलमा अन्तिम बल बाँकी हुँदा ४ विकेटको जित हासिल गरेको थियो। त्यसअघि पहिलो खेलमा २ बल बाँकी हुँदा ४ विकेटको जित निकाल्न सफल भएको थियो। पहिलो खेलमा भारतले २ सय २५ रनको लक्ष्य चेज गर्न सफल भएको थियो। दोस्रो खेलमा पनि न्युजिल्यान्ड १ सय ८० रनको लक्ष्य जोगाउन असफल भएको थियो। यी दुई टिमबीच अझै २ खेल खेल्न बाँकी छ।


