
तिहारमा ५२ लाख फूलका माला खपत हुने, ४८ करोडको कारोबार अनुमान
काठमाडौं । आगामी तिहारमा काठमाडौं उपत्यकामा करिब ५२ लाख वटा फूलका माला खपत हुने अनुमान गरिएको छ ।
फ्लोरिकल्चर एसोसिएसन नेपालले मंगलबार आयाेजना गरेकाे पत्रकार सम्मेलनमा आगामी तिहारमा सयपत्री फूलका ४५ लाख, मखमलीका छ लाख, गोदावरीका २० हजार र मिक्स फूलका ६० हजार माला खपत हुने जनाइएको छ ।
फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष राजेशभक्त श्रेष्ठले यस पटकको तिहारमा स्वदेशी उत्पादनकै फूल र मालाले माग धान्ने दाबी गरे । ‘तिहारमा करिब ५२ लाख विभिन्न फूलका माला आवश्यक पर्ने अनुमान गरेका छौँ’, उनले भने, ‘५२ लाख फूलका मालाका लागि करिब ४८ करोडको कारोबार हुने अपेक्षा गरिएको छ ।’
अध्यक्ष श्रेष्ठले एसोसिएसनले ५२ लाख मालामध्ये करिब ४० लाख माला स्वदेशी उत्पादनबाटै उपलब्ध हुने अपेक्षा गरेको जानकारी दिए ।
एसोसिएसनका अनुसार यसपालिको तिहारमा सयपत्री फूलका ४५ लाख मालालाई औसत थोक मूल्य प्रतिमाला ९० रुपैयाँका दरले ४० करोड ५० लाख रुपैयाँ, मखमली फूलका छ लाख मालालाई औसत थोक मूल्य प्रतिमाला ४५ रुपैयाँका दरले दुई करोड ७० लाख रुपैयाँ पर्नेछ ।
गोदावरी फूलका २० हजार मालालाई औसत थोक मूल्य प्रतिमाला एक हजार २०० रुपैयाँका दरले दुई करोड ४० लाख र मिक्स फूलका ६० हजार मालालाई औसत थोक मूल्य प्रतिमाला ४०० रुपैयाँका दरले दुई करोड ४० लाख रुपैयाँ पर्ने बताइएको छ ।
यसैबीच, एसोसिएसनले यही १२ देखि १६ कात्तिकसम्म ललितपुरको जावलाखेलमा १९औँ गोदावरी फूल प्रतियोगितात्मक प्रदर्शनी आयोजना गर्ने भएको एसोसिएसनका उपाध्यक्ष तथा मेला संयोजक सुमन महर्जनले जानकारी दिए ।
मेलामा सेल्फीसहित ७८ वटा व्यावसायिक फूलका कक्ष रहनेछन् । मेलामा ४५० प्रजातिका फूल तथा बिरुवा राखिने आयोजक संस्थाले जनाएको छ । मेलाको करिब ३९ हजार जनाले अवलोकन गर्ने अनुमान गरिएको छ ।


