
आइतबार पोखरामा दसैँ पर्यटन तथा सांस्कृतिक महोत्सव हुँदै
कास्की । पोखरामा आइतबार दसैँ पर्यटन तथा सांस्कृतिक महोत्सव आयोजना हुँदैछ । महिला पर्यटन व्यवसायी मञ्चको आयोजना तथा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको प्रवर्द्धनमा महोत्सव हुन लागेको हो ।
पोखरा ६ लेकसाइडस्थित बाराहीघाट मैदानमा हुने महोत्सवमा सांस्कृतिक विविधता, स्थानीय जीवनशैली, मौलिक खाना, कला, परम्परागत पिङलगायतका कार्यक्रमको आयोजना गरिएको महिला पर्यटन व्यवसायी मञ्चकी अध्यक्ष ममता न्यौपानेले जानकारी दिइन्।
शनिबार पत्रकार सम्मेलनमा गर्दै आयोजकले दसैँको टीका र जमरा विदेशी पर्यटकलाई लगाएर नेपाली परम्पराबारे जानकारी दिने बताएको छ । दसैँ पर्वलाई पर्यटनसँग जोड्दै विदेशी तथा स्वदेशी पर्यटकलाई नेपाली मौलिक संस्कृतिको प्रत्यक्ष अनुभव गराउने आयोजकको भनाइ छ ।
कोजाग्रत पूर्णिमाका दिन बिहान १०ः३० बजेदेखि खहरे चोकदेखि बाराहीघाटसम्म सांस्कृतिक तथा पर्यटन प्रवर्द्धन झाकी सहित र्याली आयोजना गर्ने महोत्सवकी संयोजक उमा भण्डारीले बताइन् । पर्यटकलाई टीका लगाउने मूल कार्यक्रम साथै खेलकुद र सांस्कृतिक कार्यक्रम हुनेछन् ।


