
अर्थमन्त्री वाग्लेले दिल्लीबाट दिएको अभिव्यक्तिप्रति कमल थापाको आपत्ति
काठमाडौं । राप्रपाका नेता कमल थापाले अर्थमन्त्री स्वर्णिम वाग्लेले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। नयाँदिल्लीमा आयोजित एनडीटीभी वल्र्ड समिट २०२६ मा बोल्दै अर्थमन्त्री वाग्लेले नेपालमा भारतविरोधी भावनासँग जोडिएको राष्ट्रवादको युग सकिएको बताएका थिए।
उनले भनेका थिए, ‘नेपालमा कुनै समय राष्ट्रवादलाई भारतविरोधी भावनासँग जोडेर हेर्ने गरिन्थ्यो । तर, त्यो युग अब सकिएको छ।’
वाग्लेको यो अभिव्यक्तिले नेपाली राष्ट्रियतामाथिको ठाडो अवमूल्यन गरेको नेता थापाको भनाइ छ। उनले भनेका छन्, ‘नेपाल–भारत सम्बन्धका सन्दर्भमा डा. स्वर्णिम वाग्लेले हालै दिल्लीमा दिनुभएको अभिव्यक्ति आपत्तिजनक मात्र नभई नेपाली राष्ट्रियतामाथिको ठाडो अवमूल्यन हो। नेपालको राष्ट्रवाद कहिल्यै पनि कुनै मुलुकविशेषको विरोधमा टिकेको छैन।’
विदेशी मञ्चमा पुगेर ‘भारतविरोधी राष्ट्रवादको युग सकियो’ भन्दै राष्ट्रिय सरोकारका मुद्दालाई कमजोर बनाउने तर्क पूर्णतया गैरजिम्मेवार रहेको उनको भनाइ छ।
सानो समूहको केही अपवादमूलक धारणालाई लिएर सिङ्गो मुलुकको राष्ट्रिय भावनालाई सङ्कुचित देख्नु पूर्वाग्रही चस्माको उपज भएको टिप्पणी गरे।
थापाले थपेका छन्, ‘नेपालको राष्ट्रियता आफ्नो देशको सार्वभौमिकता र नेपाली जनताको हितको रक्षामा केन्द्रित छ। हामी भारतसँग समानता र सम्मानजनक सम्बन्ध चाहन्छौँ; तर सीमा मिचिनु, डुबान हुनु वा नाकाबन्दीजस्ता ज्यादतीविरुद्ध बोल्नु भारतविरोध होइन, राष्ट्रप्रतिको अविभाज्य निष्ठा हो। के राष्ट्रहितमा उठ्ने यी आवाजहरू अब असान्दर्भिक भइसकेका हुन?’
वाग्लेको यो अभिव्यक्ति कतै विगतमा अघि सारेको आत्मघाती ‘मुनरो डक्ट्रिन’ कै उपज त होइन? भन्दै प्रश्न उठाएका छन्।
जिम्मेवार ओहोदामा बसेका व्यक्तिले यो अभिव्यक्तिको जवाफ दिनुपर्ने उनको भनाइ छ। नेता थापाले यसबारेमा सरकारको धारणा पनि माग गरेका छन्।


