
अन्तर्राष्ट्रिय फौजदारी अदालतलाई ‘सखारोभ पुरस्कार’ प्रदान
काठमाडौं । युरोपेली संघ (ईयू)ले अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) र यसका अधिकारीहरूलाई आफ्नो प्रतिष्ठित मानवाधिकार सम्मान ‘सखारोभ पुरस्कार’ प्रदान गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आईसीसीमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको केही दिनपछि यो सम्मान प्रदान गरिएको हो ।
अमेरिकाले आईसीसीले अमेरिका र उसका सहयोगी राष्ट्रसँग सम्बन्धित मुद्दाहरूमा गरेको अनुसन्धानको विरोध गर्दै अदालतका अधिकारीहरूमाथि प्रतिबन्ध लगाउने कदम चालेको थियो ।
विशेषगरी इजरायलसँग सम्बन्धित मुद्दामा आईसीसीले अघि बढाएको अनुसन्धानलाई लिएर अमेरिकाले आपत्ति जनाउँदै आएको छ ।
आईसीसीकी अध्यक्ष तामोको अकानेले पुरस्कार प्राप्त भएकोमा खुसी व्यक्त गर्दै अदालत र यसका अधिकारीहरूले अभूतपूर्व चुनौतीहरूको सामना गरिरहेको कठिन समयमा यो सम्मान प्राप्त हुनु महत्वपूर्ण रहेको बताएका छन् ।
सन् १९८८ देखि प्रदान गर्न थालिएको सखारोभ पुरस्कारको नाम सोभियत संघका वैज्ञानिक तथा नोबेल शान्ति पुरस्कार विजेता आन्द्रेई सखारोभको नामबाट राखिएको हो ।
मानवाधिकार र आधारभूत स्वतन्त्रताको संरक्षणमा उल्लेखनीय योगदान पुर्याउने व्यक्ति वा संस्थालाई यो पुरस्कार प्रदान गरिन्छ ।
पुरस्कारका विजेता युरोपेली संसद्का अध्यक्ष र वरिष्ठ सांसदहरू सम्मिलित समितिले छनोट गर्छ ।


