
गाई-भैँसीपालनबाट मासिक १५ लाख बचत गर्छन् इन्जिनियर लामिछाने
काठमाडौं । इन्जिनियरिङ पेसासँगै कृषि व्यवसायमा लागेका गोरखाका इन्जिनियर कुमार लामिछाने गाई तथा भैँसीपालनबाट मासिक १५ लाख रूपैयाँ बचत गर्न सफल भएका छन् । काठमाडौंको नागार्जुन नगरपालिका–६ रामकोट, डाँडापौवामा गाई तथा भैँसीपालन व्यवसाय सञ्चालन गर्दै आएका लामिछानेले मेहनत र लगनशीलताका साथ व्यवसाय अघि बढाइरहेका छन् ।
गोरखा सिरानचोक गाउँपालिका–७ खहरेका सिभिल इन्जिनियर लामिछानेले २०७७ साल जेठमा ‘क्षितिज एकीकृत कृषि फार्म प्रालि’ स्थापना गरी गाई तथा भैँसीपालन शुरू गरेका हुन् । उनका अनुसार व्यवसायमा हालसम्म करिब १० करोड रूपैयाँ लगानी भइसकेको छ । लामिछानेले मासिक एक लाख रूपैयाँ भाडा तिर्ने गरी ६ रोपनी जग्गा लिएर फार्म सञ्चालन गर्दै आएका छन् । शुरूमा ३० वटा भैँसीबाट व्यवसाय शुरू गरेका उनको फार्ममा अहिले २०० वटा गाई र ५० वटा भैँसी छन् ।
‘इन्जिनियर भएपछि निर्माणसँग सम्बन्धित काम गर्थें । सात वर्षदेखि जीवनसाथी इन्जिनियर सङ्गीतासँगको सहयोग र सहकार्यमा इन्जिनियरिङ पेसासँगै गाई तथा भैँसीपालन व्यवसाय गर्दै आएको छु’, उनले भने, ‘यस व्यवसायबाट केहीले रोजगारी पाएका छन् भने आम्दानी पनि राम्रै भइरहेको छ ।’ फार्मबाट अहिले दैनिक करिब एक हजार २०० लिटर दूध उत्पादन हुने गरेको छ । उत्पादित दूधमध्ये केही दूध दुग्ध विकास संस्थान (डीडीसी) र नमूना डेरीमा तथा बाँकी उपत्यकाका विभिन्न डेरीमा बिक्री हुने गरेको लामिछानेले जानकारी दिए ।
उनका अनुसार हाल भैँसीको दूध प्रतिलिटर १७० रूपैयाँ र गाईको दूध प्रतिलिटर १०० रूपैयाँमा बिक्री भइरहेको छ । दूध दुहुनका लागि फार्ममा मेसिनसमेत जडान गरिएको छ । फार्ममा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा करिब ५० जना कर्मचारी कार्यरत छन् । दूध बिक्रीबाट मासिक ४५ देखि ५० लाख रूपैयाँसम्म आम्दानी हुने गरेको लामिछानेले बताए । विभिन्न खर्च कटाएर मासिक करिब १५ लाख रूपैयाँ बचत हुने उनको भनाइ छ । गाई तथा भैँसीका लागि आवश्यक पराल र दानामा बढी खर्च हुने गरेको उनले बताए । इन्जिनियरिङ पेसासँगै व्यावसायिक कृषि कर्मलाई अघि बढाउँदै आएका लामिछानेले पशुपालनबाट रोजगारी सिर्जना गर्नुका साथै व्यावसायिक कृषितर्फ आकर्षण बढाउन सकिने उदाहरण प्रस्तुत गरेका छन् ।


