
दशैँका लागि राजधानी भित्रिए च्याङ्ग्रा र खसीबोका
नेपालीहरूको महान चाड बडादशैँ शुरु भएसँगै काठमाडौँ उपत्यकाको माहोल भिन्दै बनेको छ।
शहरका विभिन्न बजारमा सामान किन्नेको भीड एकातिर छ भने अर्कोतिर टुकुचा, बल्खु, कलङ्की, सल्लाघारी र कोटेश्वरका खुला चउर अनि साँघुरा गल्लीहरूमा खसी, बोका र हिमाली च्याङ्ग्राको चहलपहल उत्कर्षमा पुग्छ।
फलामे सिक्रीले झुन्ड्याइएको बलियो जालीदार खोरभित्र एउटा कालो खसी राखिएको छ। सुन्तला रङको टिसर्ट र रातो टोपी लगाएका ग्राहक उत्सुक भएर तौल हेरिरहेका छन् भने नीलो ज्याकेटका व्यापारी हातमा कापी–कलम बोकेर तौल टिप्दै छन्।
छेउमा हरियो ज्याकेटका व्यक्ति फोनमा कुराकानी गर्दैछन्। पहिले–पहिले खसीको ढाड छामेर अन्दाजमा धार्नी वा गोटाको हिसाबले मूल्य तोकिन्थ्यो। तर काठमाडौंका व्यवस्थित बजारमा हाल जिउँदो तौल (प्रति किलो) अनुसार पारदर्शी किनबेच अनिवार्य छ।
फलामे खोरभित्र पस्दा खसी केही आत्तिन्छ तर व्यापारीको खातामा चढ्ने हरेक किलोग्रामले किसानको कमाइ र उपभोक्ताको बजेट निर्धारण गर्छ।
इँटाका पुराना घरहरू र टिनका छाना भएको साँघुरो गल्लीमा दुवैतर्फ खसीबोका बाँधिएका छन्। बाक्लो भीडमा खरिदकर्ता र व्यापारीहरू खसीको स्वास्थ्य जाँच्दै मोलमोलाइ गरिरहेका छन्। भुइँमा हिलो र घाँस छरिएको छ। काठमाडौँ उपत्यकामा पर्याप्त खुला मैदान नहुँदा गल्ली र घरका चोकहरू नै अस्थायी खसीबजार बन्छन्।
बिहान उज्यालो हुनु अघिदेखि साँझ अबेरसम्म यहाँ व्यापारी र उपभोक्ताको घम्साघम्सी चल्छ। यो शहरको शहरीकरण र ग्रामीण पशुपालनबीचको मिलनबिन्दु हो। पशु व्यापारमा महिलाहरूको सक्रियता पनि उल्लेखनीय छ।
खसी संकलन, भुक्तानीको हिसाव र ग्राहक व्यवस्थापनमा महिला साहुनीहरूको बलियो भूमिका रहन्छ। डिजिटल फोन र अनलाइन बैंकिङ औक्यूआर कोडओले अब खसीबजारको नगद कारोबारलाई पनि सहज बनाएको छ।
टिनको पर्खाल र इँटाको कुनामा लामो भुत्ला भएका बाक्ला च्याङ्ग्राहरू एकआपसमा टाँसिएर थकाइ मारिरहेका छन्। छेउमा नीलो प्लास्टिकको बाटामा पानी भरिएको छ भने भित्तामा रातो ड्रम झुन्ड्याइएको छ। भुइँमा सेतो पाठो र कालो च्याङ्ग्रा सुतिरहेका छन्।
मुस्ताङको लोमान्थाङ र तिब्बत सिमानाबाट हिँडेर जोमसोम, म्याग्दी, पोखरा हुँदै काठमाडौं आइपुग्दा च्याङ्ग्राहरू निकै गलेका हुन्छन्। हिमाली चिसो हावापानीमा बानी परेका यी चौपायालाई काठमाडौFको उकुसमुकुस वातावरणमा अनुकूल हुन पानी र आराम सबैभन्दा बढी आवश्यक हुन्छ।
सेतो, कालो, खैरो र छिरबिरे खसीहरू लामबद्ध डोरीमा बाँधिएका छन्। नेपालका विभिन्न भूगोलबाट आएका खसीहरू यहाँ एकै डोरीमा बाँधिन्छन्। खरिदकर्ताहरू खसीको रूप, उचाई र मासुको अनुपात हेरेर मोलमोलाइ गर्छन्। डोरीमा बाँधिएको हरेक खसीले कुनै न कुनै परिवारको दशैँको भोजको प्रतीक्षा गरिरहेको हुन्छ।
काठमाडौँको सिमेन्टको सहरमा हरियो घाँस पाउनु खसीका लागि अमृत समान हो। ढुवानीका क्रममा भोकाएका खसीहरूलाई बजारमा ताजा देखाउन र तौल नघटोस् भन्नका लागि व्यापारीहरूले गाउँबाटै बोरामा घाँस किनेर ल्याउने गर्छन्।


