
दसैँमा फोहोर घरमै राख्न काठमाडौं महानगरपालिकाको आग्रह
काठमाडौं । आगामी कात्तिक १ गतेदेखि ४ गतेसम्म काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन कार्य प्रभावित हुने भएको छ । काठमाडौं महानगरपालिकाका अनुसार उपत्यकाको अन्तिम फोहोर विसर्जनस्थल बञ्चरेडाँडामा ती चार दिन फोहोर व्यवस्थापनको काम प्रभावित हुनेछ ।
नेपालीहरूको महान् पर्व बडादसैँका मुख्य दिनहरू परेकाले सफाइ कर्मचारीहरू पनि पर्व मनाउन बिदामा रहने हुँदा फोहोर व्यवस्थापन प्रभावित हुन पुगेको महानगरपालिकाले स्पष्ट पारेको छ । यस अवधिमा घर, कार्यालय तथा व्यवसायबाट निस्कने फोहोरलाई सडक वा सार्वजनिक स्थलमा नफाल्न महानगरपालिकाले नगरवासीमा अपिल गरेको छ ।
महानगरपालिले तोकिएको चार दिनबाहेक अन्य दिनहरूमा भने फोहोर संकलन तथा व्यवस्थापनको काम नियमित रूपमा सञ्चालन हुने महानगरपालिकाले जनाएको छ ।


