
नारायणी डेभलपमेन्ट बैंकले बोलायो साधारणसभा, के-के छन् एजेण्डा ?
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले साधारणसभा आह्वान गरेको छ । असोज २३ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले आगामी कात्तिक २७ गतेका लागि २३ औँ र २४ औँ वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो ।
बैंकले पूँजी वृद्धि गर्न हकप्रद सेयर जारी गर्ने तथा अन्य बैंक तथा वित्तीय संस्थासँग गाभिने प्रस्ताव अघि बढाएको छ । सभा चितवनको भरतपुर–१२, बसन्त चोकस्थित स्मार्ट गार्डेन एन्ड रेस्टुरेन्टमा बिहान ११ बजे बस्नेछ । सभामा आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ को वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण छलफल गरी पारित गर्ने प्रस्ताव पेस हुनेछ । साथै लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक अनुमोदन गर्ने र नयाँ लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि राखिएको छ । रिक्त सञ्चालक पदमा सञ्चालक समितिबाट नियुक्त भएका व्यक्तिको नियुक्ति अनुमोदन गर्ने प्रस्तावसमेत सभामा पेस गरिनेछ ।
बैंकले नियामक निकायले तोकेको न्यूनतम चुक्ता पुँजी कायम गर्न आवश्यक रकम जुटाउने उद्देश्यले हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि अघि सारेको छ । यसअघि जारी गरिएको हकप्रद सेयरमध्ये बिक्री हुन बाँकी शेयरको लिलामी प्रक्रिया पूरा भएपछि आवश्यकताअनुसार थप हकप्रद शेयर निष्कासन गर्ने प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव सभामा पेस हुनेछ । यसका लागि नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्डलगायत सम्बन्धित निकायबाट स्वीकृति लिनुपर्नेछ ।
त्यस्तै बैंकले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग गाभिने वा प्राप्ति गर्ने सम्भावनासमेत अघि बढाउने भएको छ । यसका लागि उपयुक्त संस्था र लगानीकर्ता पहिचान गर्ने, छलफल तथा सम्झौता गर्ने, सम्पत्ति र दायित्वको मूल्याङ्कन गराउने तथा आवश्यक नियामकीय स्वीकृति लिने काम अघि बढाउन सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव राखिएको छ । बैंकको पूँजी, व्यवसाय र संस्थागत क्षमता बढाउन रणनीतिक साझेदार वा नयाँ लगानीकर्ता भित्र्याउने विकल्प पनि खुला राखिएको छ ।
साधारणसभा प्रयोजनका लागि बैंकले कात्तिक १३ गते एक दिन सेयरधनी दर्ता किताब बन्द गर्ने जनाएको छ । त्यसैले कात्तिक १२ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भई बैंकको सेयर रजिस्ट्रार ग्लोबल आइएमई क्यापिटलमा प्राप्त विवरणअनुसार कायम सेयरधनी मात्रै साधारणसभामा सहभागी हुन योग्य हुनेछन् ।


