
खल्तीमा कार्ड बोक्नै नपर्ने, नबिलको भर्चुअल क्रेडिट कार्डबाट क्यूआर भुक्तानी
काठमाडौं । दैनिक किनमेलको भुक्तानी गर्न अब भौतिक क्रेडिट कार्ड बोकिरहनु नपर्ने भएको छ। नबिल बैंकले मोबाइलबाटै प्राप्त गर्न र फोनपे मर्चेन्ट क्यूआरमा भुक्तानी गर्न मिल्ने ‘नबिल भर्चुअल क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको छ।
असोज २९ गते बिहीबारदेखि सञ्चालनमा आएको यो सेवामार्फत योग्य ग्राहकले बैंकको एनबैंक एपबाटै क्रेडिट कार्ड प्राप्त गरी डिजिटल कारोबारमा प्रयोग गर्न सक्नेछन्। यसले क्यूआरबाट हुने दैनिक भुक्तानीमा क्रेडिट कार्डको कर्जा सुविधा उपयोग गर्ने अवसर दिएको छ।
बैंकका अनुसार परम्परागत क्रेडिट कार्डसँग सम्बन्धित कागजी प्रक्रिया तथा अन्य औपचारिक झन्झटबिना योग्य ग्राहकले एपको होमपेजमा रहेको ‘अपलाइ नाउ’ विकल्पमार्फत आवेदन दिन र कार्ड प्राप्त गर्न सक्नेछन्।
बैंकले आफ्नै तथ्याङ्कमा आधारित विश्लेषणात्मक प्रणालीमार्फत यस सुविधाका लागि योग्य ग्राहकलाई पूर्वस्वीकृत गरिसकेको जनाएको छ। छनोट भएका ग्राहकको एनबैंक एपको होमपेजमा स्वतः ‘अपलाइ नाउ’ विकल्प देखिनेछ।
यसरी ग्राहकको योग्यता पहिचानदेखि कार्ड उपलब्ध गराउनेसम्मको प्रक्रिया डिजिटल माध्यममा समेटिएको छ। प्रारम्भिक रूपमा यो सुविधा बैंकले पूर्वस्वीकृत गरेका योग्य ग्राहकले प्राप्त गर्नेछन्।
नबिल भर्चुअल क्रेडिट कार्ड फोनपे मर्चेन्ट क्यूआरमार्फत गरिने भुक्तानीमा मात्र प्रयोग गर्न सकिने बैंकले स्पष्ट पारेको छ। फोनपे क्यूआरबाट भुक्तानी स्वीकार गर्ने व्यापारिक प्रतिष्ठानमा ग्राहकले यस कार्डको कर्जा सुविधा प्रयोग गरी कारोबार गर्न सक्नेछन्।
सेवा सञ्चालनका लागि नबिल बैंक र फोनपे पेमेन्ट सर्भिस लिमिटेडबीच बुधबार समझदारीपत्रमा हस्ताक्षर भएको थियो। उक्त सहकार्यले मोबाइल बैंकिङबाट प्राप्त हुने क्रेडिट कार्डलाई फोनपेको मर्चेन्ट सञ्जालसँग जोडेको हो। समझदारीपत्र हस्ताक्षर कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीले ग्राहकको सहजतालाई प्राथमिकतामा राखेर सेवा विस्तार गरिएको बताए।
“ग्राहकको सहजता नै हाम्रो प्राथमिकता हो। डिजिटल युगको आवश्यकता अनुरूप ग्राहकलाई सकेसम्म बैंक शाखामै पुग्न नपरी बैंकिङ सेवा उपलब्ध गराउने दिशामा हामी निरन्तर काम गरिरहेका छौं,” उनले भने। ज्ञवालीले भर्चुअल क्रेडिट कार्डलाई बैंकको डिजिटल रूपान्तरण तीव्र बनाउने र ग्राहकको बदलिँदो आवश्यकताअनुसार वित्तीय समाधान उपलब्ध गराउने प्रयासको महत्त्वपूर्ण हिस्सा भएको बताए। बैंकले सार्वजनिक गरेको विज्ञप्तिमा भने कार्डको कर्जा सीमा, ब्याजदर, शुल्क तथा भुक्तानी अवधिबारे विवरण खुलाइएको छैन।
नबिल बैंकले देशभर २६२ शाखा र ३१६ एटीएममार्फत २८ लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको जनाएको छ। बैंकले एनबैंकमार्फत डिजिटल वित्तीय सेवाहरू थप विस्तार गर्दै लैजाने बताएको छ।


