
लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको क्रेडिट रेटिङ स्थिर,आम्दानीको स्रोत सीमित
काठमाडौं । इक्रा नेपालले लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको इस्यूअर रेटिङ लाई पुनः पुष्टी गर्दै ‘[ICRANP-IR] BB-‘ रेटिङ कायम गरेको छ। यस रेटिङले कम्पनीको वित्तीय दायित्व समयमा नै पूरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ। पोखरामा केन्द्रीय कार्यालय रहेको यो कम्पनी सन् २०२३ को नोभेम्बरदेखि सञ्चालनमा आएको हो। हाल कम्पनीको चुक्ता पुँजी ५२ करोड ५० लाख रुपैयाँ रहेको छ भने यसको कुल सम्पत्ति १ अर्ब ४ करोड ३० लाख रुपैयाँ पुगेको छ। आर्थिक वर्ष २०२६ मा कम्पनीले ४ लाख ६० हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ।
कम्पनीसँग सञ्चालनको प्रारम्भिक वर्षहरूलाई सुहाउँदो रूपमा देशभर २३ वटा शाखा कार्यालयहरूको पर्याप्त नेटवर्क रहेको छ। त्यस्तै, मध्य जुलाई २०२५ सम्ममा कम्पनीको सोल्भेन्सी रेसियो १.९९ गुणा रहेको छ, जुन बिमा प्राधिकरणले तोकेको न्यूनतम १.५ गुणाको नियामक मापदण्डभन्दा राम्रो हो। यसले कम्पनीको पुँजीगत आधार सन्तोषजनक रहेको देखाउँछ। यसबाहेक, कम्पनीले आफ्नो अभिकर्ता सञ्जाललाई विस्तार गर्दै लघुवित्त र सहकारीहरूसँगको सहकार्यलाई बढाएको छ, जसले व्यवसाय वृद्धिमा सहयोग पुर्याएको छ।
बजारमा अन्य लघु बिमा कम्पनीहरूसँगै १४ वटा मुख्य जीवन बिमा कम्पनीहरूसँग कडा प्रतिस्पर्धा गर्नुपर्ने चुनौती यस कम्पनीसामु रहेको छ। कम्पनीको कुल बिमा शुल्क आर्जनमा करिब ६८ प्रतिशत हिस्सा जोखिमपूर्ण टर्म बिमा (वैदेशिक रोजगार पुलसहित) को रहेको छ, जसले व्यवसायमा अस्थिरता ल्याउन सक्छ। यसका साथै, संस्थागत तथा क्रेडिट-लिंकड व्यवसायमा ३७ प्रतिशतको उच्च निर्भरताले एकाग्रता जोखिम बढाएको छ।
बढ्दो दाबी अनुपात र लगानीबाट हुने आम्दानीमा आएको गिरावटका कारण कम्पनीको नाफा प्रभावित भएको छ। ब्याजदरमा आएको कमी र सेयर लगानीमा भएको पुँजीगत नोσानीका कारण कुल लगानीको प्रतिफल आर्थिक वर्ष २०२५ को १०.४ प्रतिशतबाट घटेर आर्थिक वर्ष २०२६ मा ५.६ प्रतिशतमा सीमित भएको छ। यसैगरी, सेयर बजारको उतारचढाव र केही सीमित कम्पनीका सेयरमा भएको उच्च लगानीका कारण कम्पनीको इक्विटी लगानीमा केही प्रतिशत नोक्सानी देखिएको छ। साथै, कर्पोरेट सुशासनसम्बन्धी विषयहरूलाई लिएर हालैका केही उच्च अधिकारी तथा सञ्चालकहरूको निष्कासन वा निलम्बनले कम्पनीका लागि सञ्चालनगत र प्रतिष्ठासम्बन्धी केही चुनौती थपेको छ।
आगामी दिनमा कडा प्रतिस्पर्धाका बाबजुद व्यवसायको दायरा विस्तार गर्न, लगानीको प्रतिफल सुधार्न र जोखिममा आधारित पुँजी फ्रेमवर्क लागू हुँदा सोल्भेन्सी अनुपातलाई सुरक्षित राख्नु नै कम्पनीका मुख्य संवेदनशील पक्षहरू रहनेछन्।


