
गोल्याण फाउण्डेसनद्वारा स्वयंसेवक सम्मानित
काठमाडौँ । गोल्याण फाउण्डेसनले भोटेकोशी बाढीबाट प्रभावित समुदायलाई सहयोग पुर्याउने स्वयंसेवकहरूलाई सम्मान गरेको छ । फाउण्डेसनद्वारा नुवाकोटमा संचालित होल्डिङ सेन्टरमा सहयोग गरेका ८६ स्वयंसेवकलाई उनीहरूको योगदानको कदरस्वरुप सम्मान गरिएको हो ।
गोल्याण ग्रुपको सामाजिक सहकार्यात्मक सस्था गोल्याण फाउण्डेशनले नुवाकोटको विदुर नगरपालिका–३, पिपलटारस्थित चन्द्रज्योति माध्यमिक विद्यालयको होल्डिङ सेन्टरमा २५ दिनसम्म मानवीय सहायता अभियान सञ्चालन गरेको थियो । उक्त अभियानअन्तर्गत बाढी प्रभावित परिवारका लागि सामुदायिक भान्छा, स्वास्थ्य सेवा, मनोसामाजिक प्राथमिक सहायता तथा बालबालिकाका लागि अस्थायी सिकाइ केन्द्र सञ्चालन गरिएको थियो । विपद्को कठिन परिस्थितिमा प्रभावित समुदायलाई आवश्यक सहयोग पुर्याउन स्वयंसेवकहरूले निरन्तर खटिएर महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
सम्मान कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य डा. अच्युतम लामिछानेले विपद्का समयमा निःस्वार्थ भावनाका साथ सेवामा खटिएका स्वयंसेवकहरूको योगदानको प्रशंसा गर्दै गोल्याण फाउन्डेसनले सञ्चालन गरेको मानवीय तथा परोपकारी कार्यको सराहना गरे ।
गोल्याण ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक अक्षय गोल्याणले स्वयंसेवकहरूको समर्पण, सेवाभाव र सामूहिक प्रयासको प्रशंसा गरे । उनले समाजप्रतिको उत्तरदायित्वलाई आत्मसात् गर्दै आगामी दिनमा पनि सामाजिक क्षेत्रमा योगदान विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै, मानवीय सेवामा निरन्तर सक्रिय रहन स्वयंसेवकहरूलाई प्रोत्साहित गर्दै गोल्यान ग्रुप सधैँ उनीहरूको साथमा रहने विश्वास व्यक्त गरे ।
त्यसैगरी, गोल्याण फाउन्डेसनकी प्रमुख कार्यकारी अधिकृत ज्योति गैह्रेले अभियानका क्रममा फिल्ड कमान्डरका रूपमा प्रत्यक्ष नेतृत्व गर्दै प्राप्त गरेका अनुभवहरू स्मरण गरिन् । उनले विपद्को समयमा देखिएको सहकार्य, समर्पण र मानवीय भावनाको चर्चा गर्दै अभियानलाई सफल बनाउन योगदान पुर्याउने सम्पूर्ण स्वयंसेवक, सहकर्मी तथा सहयोगी संस्थाहरूप्रति हार्दिक आभार व्यक्त गरिन् ।
कार्यक्रममा जेन–जी परिवार कल्याण समाजका उपाध्यक्ष बसन्त किशोर श्रेष्ठ, सदस्य पुरुषोत्तम खतिवडालगायत गोल्याण ग्रुपका विभिन्न नेतृत्व तहका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो ।


