
अब स्वास्थ्य बीमाका लागि पनि राष्ट्रिय परिचयपत्र चाहिने
काठमाडौं । सरकारी स्वमित्व समेत रहेको स्वास्थ्य बीमा बोर्डले अब स्वास्थ्य बीमा कार्यक्रमलाई थप सुधार गर्ने निती अघि सारेको छ । उसले अब डिजिटल, थप व्यवस्थित र प्रभावकारी बनाउने भएको हो ।
हाल बोर्डको बैठकले १६ वर्ष उमेर पूरा गरेका नागरिकका लागि स्वास्थ्य बीमा कार्यक्रममा आबद्धता, नवीकरण तथा सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेको छ ।
अब २०८३ साल पुस १ गतेदेखि १६ वर्ष उमेर पूरा गरेका नागरिकले स्वास्थ्य बीमा कार्यक्रममा नयाँ आबद्धता, नवीकरण तथा सेवा प्राप्त गर्दा राष्ट्रिय परिचयपत्र अनिवार्य रूपमा प्रयोग गर्नु बताइएको छ।
यता, सामान्य तथा लक्षित वर्गका सबै बीमित परिवारलाई केवाईसी मार्फत आफ्नो विवरण अनिवार्य रूपमा अद्यावधिक गर्न सार्वजनिक सूचना जारी गर्ने निर्णय भएको छ । यसबाट बीमितको पहिचान सुनिश्चित गर्नुका साथै दोहोरो आबद्धता नियन्त्रण, अद्यावधिक र दाबी व्यवस्थापनलाई प्रभावकारी बनाउन सहयोग पुग्ने बोर्डको अपेक्षा गरिएको हो ।
स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सेवा खरिद तथा भुक्तानी प्रणालीलाई वैज्ञानिक, लागत प्रभावकारी र दिगो बनाउन रणनीतिक खरिदसम्बन्धी अध्ययन कार्यदल गठन गर्ने निर्णय पनि भएको बेलामा कार्यदलले सेवा प्रदायक स्वास्थ्य संस्थाको छनोट तथा सम्झौताको आधार, सेवाको वर्गीकरण, सेवा खरिद तथा भुक्तानी विधि, सम्झौताको मस्यौदा र चरणबद्ध कार्यान्वयन योजनासहितको प्रतिवेदन ६० दिनभित्र पेश गर्नुपर्ने बताइएको छ।
सोही बोर्डले यसबाट स्वास्थ्य बीमा कोषको वित्तीय दिगोपना, सेवा गुणस्तर, लागत नियन्त्रण र दाबी व्यवस्थापनमा सुधार हुने अपेक्षा गरेको हो ।
आगामी दिनमा यस्ता व्यवस्थाले हस्तलिखित प्रेस्क्रिप्सन, म्यानुअल दाबी तथा कागजी अभिलेखको प्रयोग घट्नेदेखि भुक्तानी प्रक्रियामा छिटो छरितो हुने अपेक्षा गरिएको छ ।
मुख्य रुपमा स्वास्थ्य बीमामा नागरिकको विश्वासलाई वृद्धि गर्दै सेवा प्रवाहलाई छिटो छरितो एवम् पारदर्शी बनाउँने उदेश्य समेत अघि सारिएको देखिन्छ ।


