
गल्छी–बेत्रावती सडकको ट्रयाक खोल्ने काम सम्पन्न
काठमाडौं । बाढीका कारण क्षतिग्रस्त गल्छी–बेत्रावती सडकखण्डमा ट्रयाक खोल्ने काम सम्पन्न भएको छ। ट्रयाक खुलेसँगै उक्त सडकखण्डमा सर्वसाधारणको आवतजावतसमेत सुरु भएको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जानकारी दिएका छन्।
रसुवासँग जोडिने प्रमुख सडकमार्गका रूपमा रहेको उक्त सडकखण्डमा हाल ट्रयाक खोलिए पनि सडकको ग्रेड मिलाउने तथा ग्राभेल हाल्ने काम भने बाँकी रहेको मन्त्री लम्सालले बताए।
सडक निर्माण तथा मर्मतको काम भइरहेका बेला बाक्लो रूपमा सवारीसाधन सञ्चालन हुँदा निर्माण कार्य प्रभावित भइरहेको जनाउँदै मन्त्री लम्सालले निर्माण कार्यलाई सहज बनाउन सबैलाई सहयोग गरिदिन आग्रह गरेका छन्।
यसैबीच, ट्रयाक खोल्ने काम सम्पन्न भएसँगै सडकखण्डमा बेलिब्रिज जडानको कामसमेत अघि बढाइएको छ। नुवाकोटतर्फ बेलिब्रिज निर्माणका लागि फाउन्डेसन तयार भइसकेको छ भने नेपाली सेनाको सहयोगमा बेलिब्रिज जडानको तयारी सुरु गरिएको छ।
त्यस्तै, रसुवातर्फको बेलिब्रिजको फाउन्डेसन निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको मन्त्री लम्सालले जानकारी दिए । निर्माण कार्यलाई तीव्रता दिँदै आगामी एक साताभित्र बेलिब्रिज जडान सम्पन्न गर्ने लक्ष्यसहित काम अघि बढाइएको छ।
बाढीका कारण सडक संरचनामा क्षति पुगेपछि रसुवा आवतजावत प्रभावित हुँदै आएको थियो। ट्रयाक खुलेसँगै यातायात सञ्चालनमा सहजता आउने र बेलिब्रिज जडानपछि सडकमार्ग थप व्यवस्थित हुने अपेक्षा गरिएको छ।


