
दसैँका लागि नयाँ नोट वितरणमा राष्ट्र बैंकले सीमा नतोक्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले यस वर्ष दसैँका लागि नयाँ नोट वितरणमा कुनै सीमा नतोक्ने भएको छ। केन्द्रीय बैंकले विगतमा जस्तो निश्चित मिति तोकेर नयाँ नोट वितरण नगरी नियमित प्रक्रियामार्फत नै नयाँ तथा खुद्रा नोट सटही सुविधा उपलब्ध गराउने भएको हो।
राष्ट्र बैंकका सहप्रवक्ता सुधा श्रेष्ठका अनुसार यस वर्ष नयाँ तथा खुद्रा नोट सटहीसम्बन्धी छुट्टै औपचारिक सूचना जारी गरिने छैन। दसैँका अवसरमा नयाँ तथा खुद्रा नोट सटहीका लागि निश्चित मिति तोक्ने अभ्याससमेत हटाइएको उनले बताइन्।
यद्यपि, नयाँ नोट लिन चाहने सर्वसाधारणले बैंक तथा वित्तीय संस्थामा गई नियमित प्रक्रियाबाट नयाँ नोट सटही गर्न सक्ने व्यवस्था रहेको श्रेष्ठले जानकारी दिइन्।
उनले राष्ट्र बैंकमा पर्याप्त नयाँ नोट रहेको र माग अनुसार सटही सुविधा दिने उनले बताइन । उनले नयाँले पुग्दासम्म नयाँ र पुगेन भने सुकिला नोट वितरण गर्ने योजनामा राष्ट्र बैंकको रहेको बताइन् ।
यसपालि प्राकृतिक विपत्तिका कारण धेरै सर्वसाधारणका लागि दसैँ उत्सवका रूपमा नभएकाले पनि विगतको जस्तो सूचना नै जारी गरेर नयाँ नोट वितरण नगर्ने भएको हो ।
उनका अनुसार अहिले राष्ट्र बैंकमा नोट सटही लिन जानेले दुई बन्डलसम्म साट्न पाउँछन् । एक बन्डलमा ५, १०, २०, ५० र १०० दरका नोट सबैको १ सय थान हुन्छ ।
व्यक्तिगत प्रयोजनका लागि हो भने नयाँ नोट नपाइने र व्यापारिक प्रयोजनका लागि नयाँ र सुकिला गरेर नोट सटही सुविधा केन्द्रीय बैंकले प्रदान गर्दै आएको दाहालले बताए ।


