
निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने
दार्चुला। जिल्ला सदरमुकाम खलङ्गामा निर्माणाधीन ५० शय्याको जिल्ला अस्पतालको भवन आगामी पुस मसान्तसम्म सम्पन्न गर्ने गरी तीव्र गतिमा काम भइरहेको छ । गत साउनको अन्तिम साता पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले अनुगमन गर्दै निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्देशन दिएपछि कामले गति लिएको हो ।
“पछिल्लो समय भवन निर्माणलाई तीव्र रूपमा अगाडि बढाइएको छ । चौथो तलाको ढलानको तयारी भइरहेको छ, असोज तेस्रो साताभित्र ढलान भइसक्नेछ”, सघन सहरी तथा भवन निर्माण आयोजना बैतडीका इञ्जिनियर विशाल श्रेष्ठले भने । अपाङ्गमैत्री, लिफ्टसहितको अत्याधुनिक सुविधासम्मन भवनको हालसम्म ६५ प्रतिशत भौतिक र ५२ प्रतिशत वित्तिय प्रगति भएको छ । “अहिले भुइँतला र पहिलो तल्लाको भित्री भागमा काम भइसकेको छ भने दोस्रो र तेस्रो तलामा काम भइरहेको छ”, उनले भने ।
नेपाल सरकारले सघन सहरी तथा भवन निर्माण आयोजनामार्फत २०७८ साल असार २४ गते श्यामसुन्दर गोर्खा, वाईआर जेभीसँग निर्माणको ठेक्का सम्झौता भएको थियो । कुल रु २६ करोड ४८ लाख २७ हजार ४०४ को लागतमा बन्ने उक्त भवन विसं २०८१ असार २३ गते सम्पन्न गर्नुपर्ने सम्झौता थियो ।
निर्माण कम्पनीले समयमै काम सम्पन्न नगरेपछि पुनःम्याद थप गरी आगामी पुस मसान्तसम्मको समय तोकिएको छ । थपिएको समयसीमाभित्र काम सम्पन्न गर्ने गरी निर्माण कम्पनीले कामलाई गति दिएको इन्जिनियर श्रेष्ठले बताउनुभयो । निर्माण कम्पनीलाई कार्यालयको तर्फबाट पनि ताकेता गरिएको उनले बताए ।


