
अविरल वर्षाले मालढुङ्गा–कोरला सडक खण्ड अवरुद्ध, ३ देखि ६ दिनभित्र यातायात सुचारु गरिने
काठमाडौं । २०८३ असोज ८ गतेदेखि परेको अविरल बर्षाको कारणले NH-48 कालीगण्डकी कोरिडोर (मालढुङ्गा- बेनी- जोमसोम- कोरला) सडक योजनाको विभिन्न खण्डमा पहिरो, सडक कटान एवं पुलको Approach Road बगाएको कारणले सडक अवरोध भएको छ।
उक्त सडक खण्डमा पर्ने लाटीखोला, फर्से, जुकेखोला, केराबारी, गलेश्वर, रघुगंगा पुल, बैसरी १, २, ३, बेगखोला, महभिर, नैनीबगर, जलथले, सुकेबगर, दाना, लाटोखोला भन्ने स्थानमा सडक माथिबाट लेदो सहितको पहिरो गएर सडक अवरुद्ध भएको साथै पोखरेबगर पुलको Left Approach Road बगाएको, तातोपानी कुण्ड, नार्च्यांग, खामभित्ता भन्ने स्थानमा नदीको उच्च वहावको कारणले बाटो कटान भएकोले सडक अवरोध भएको छ।
उक्त अवरोध भएको सडक खण्डलाई सुचारु गर्न सडक विभाग एवं सो मातहतका निकायहरुले द्रुत गतिमा काम गरिरहेको, अवरोध भएका केही स्थानहरुमा सडक सुचारु भैसकेको र आगामी दिनमा बर्षा रोकिएर काममा कुनै अवरोध नभएमा ३ देखि ६ दिनभित्र सडक सुचारु गर्ने जानकारी सडक विभागबाट प्राप्त भएको छ।कोरोला नाकाबाट सामान आयात निर्यात गर्ने कार्यमा सडक अवरोधबाट तत्काल समस्या परेको भए पनि सडक विभाग एवं सो मातहतका निकायहरुको निरन्तर प्रयासबाट छिटै सडक सुचारू हुने कुरामा पूर्ण विश्वास रहेको छ।


