
अमेरिका मध्यपूर्वबाट ‘पीडादायक प्रहार’ सहेर बाहिरिन बाध्य हुने दावी
काठमाडौं । संयुक्त राज्य अमेरिका ‘पीडादायक प्रहार’ सहेर मध्यपूर्व छाड्न बाध्य हुने इरानका सर्वोच्च नेता मोजतबा खामेनीले बताएका छन् ।
इरानी राष्ट्रिय टेलिभिजनले प्रसारित गरेको उनको वक्तव्यमा भनिएको छ, “संयुक्त राज्य अमेरिका ‘पीडादायक प्रहार’ सहेर मध्यपूर्व छाड्न बाध्य हुनेछ।”
खामेनीलाई फेब्रुअरीको अन्त्यमा मध्यपूर्वी युद्ध सुरु भएदेखि सार्वजनिक रूपमा देखिएको छैन । लडाइँ अन्त्य गर्ने वार्ता पुनः सुरु गर्ने प्रयासहरू भइरहेका बेला खामेनीका यो भनाइ सार्वजनिक भएको हो ।
संयुक्त राज्य अमेरिकाको नाम स्पष्ट रूपमा नलिइकन उनको वक्तव्यमा भनिएको छ, “अहिले वीर योद्धाहरू र हर्मुज जलमार्गको रक्षकहरूका हातबाट ‘पीडादायक प्रहार’ सहेर भएपनि उनी (शत्रु) हरू अरब सागरभन्दा पर जान हिचकिचाइरहेका छन् ।”
उनले भने, “उनीहरूले यो जोखिम लिएका छन्, उनीहरूले आफैँलाई मात्र हानि पु¥याएका छन् । चाँडै नै अरब सागर पनि उनीहरूको उपस्थितिबाट मुक्त हुनेछ।”
अरब सागर, अरब प्रायद्वीपबाट पूर्वतिर भारतसम्म फैलिएको, इरानका तटहरू र हर्मुज जलमार्गमा पुग्ने महत्त्वपूर्ण समुद्री मार्ग हो । फेब्रुअरीमा अमेरिका–इजरायली हमला इरानबाट सुरु भएदेखि मध्यपूर्वी युद्धमा इरान र संयुक्त राज्य अमेरिका हर्मुजको नियन्त्रणका लागि लडिरहेका छन् ।
युद्ध सुरु हुनुअघि यो रणनीतिक ढुवानी मार्गले विश्वको करिब पाँच भागको एक भाग तेल र ग्यास आपूर्तीमा योगदान गर्दै आएको थियो । तर युद्ध सुरु भएपछि तेहरानले हर्मुजमा नाकाबन्दी लगायो, जसका प्रतिक्रिया स्वरूप वासिङ्टनले इरानी बन्दरगाहहरूमा आफ्नो नाकाबन्दी लगाएको घोषणा गरेको थियो ।


