
रसुवा बाढी प्रभावित बीमितका लागि सहज व्यवस्था, ५० प्रतिशत अग्रिम भुक्तानी गर्नु पर्ने
काठमाडौं । नेपाल बीमा प्राधिकरणले रसुवा बाढीबाट प्रभावित बीमितका लागि सहज व्यवस्था ल्याएको छ । प्राधिकरणले विशेष कार्यविधि जारी गर्दै छिटो छरितो रुपमा भुक्तनी गर्ने व्यवस्था मिलाउन भनेको हो ।
प्राधिकरणले गत भदौ १० गते रसुवा, नुवाकोट, धादिङ र चितवन लगायतका जिल्लामा आएको विनाशकारी बाढीबाट क्षति भएका बीमितहरूको हितलाई ध्यानमा राख्दै यस्तो कार्यविधि जारी गरेको जनाएको छ । प्राधिकरणले सञ्चालक समितिबाट स्वीकृत “रसुवा बाढी दाबी भुक्तानी सम्बन्धी संक्षिप्त कार्यविधि, २०८३” मार्फत पाँच लाख रुपैयाँसम्मको दावी सर्भेयर बिना नै बीमा कम्पनी आफैले भुक्तानी गर्न सक्ने गरी सुविधा प्रदान गरिएको छ । उक्त कार्यविधि आजैबाट लागू भएको छ । सो कार्य विधि अनुसार अब बाढीबाट प्रभावितहरूले आफ्नो बीमा दाबी सरल र द्रुत प्रक्रियाबाट पाउने छन् ।
कागजात नष्ट भएमा डिजिटल र वैकल्पिक प्रमाण मान्य
बाढीका कारण धेरै बीमितहरूको भौतिक कागजात नष्ट भएको अवस्थालाई मध्यनजर गर्दै कार्यविधिमा विशेष लचकता अपनाइएको छ । भौतिक निरीक्षण सम्भव नभएका स्थानमा क्षति हुनुअघि र पछिका फोटो, भिडियो, डिजिटल अभिलेख, सरकारी वा वित्तीय विवरण र करसम्बन्धी अभिलेखलाई विश्वसनीय आधार मानी क्षति मूल्याङ्कन गर्न सकिने व्यवस्था गरिएको छ । कागजात नष्ट भएकै कारण वास्तविक क्षति पुगेका बीमितको दाबी नरोकिने गरी व्यवस्थित गरिएको छ ।
त्यस्तै बाढीबाट थला परेका व्यवसाय र बीमितहरूलाई तत्काल आर्थिक राहत दिनका लागि ५० प्रतिशतसम्म अग्रिम दाबी भुक्तानीको व्यवस्था गरिएको छ । सर्भेयरको प्रारम्भिक मूल्याङ्कन वा उपलब्ध प्रमाणका आधारमा बीमा कम्पनीले अनुमानित दायित्वको बढीमा आधा रकम बीमितलाई तत्काल पेश्कीका रूपमा दिनुपर्ने संक्षिप्त कार्यविधिमा व्यवस्था गरिएको छ ।
Loading Viewer...


