
मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन
भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगर तथा प्रदेशका उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री राजेन्द्र प्रजापतिले आइतबार राष्ट्रिय विभूति शङ्खधर साख्वाः सङ्ग्रहालयको अवलोकन गरेका छन्।
मध्यपुरथिमि शङ्खधर चोकस्थित राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानले सञ्चालन गरेको सङ्ग्रहालयको मुख्यमन्त्री थापाले अवलोकन गर्दै साख्वाःको योगदानकाबारेमा जानकारी लिएका थिए। उनले शङ्खधर साख्वाःको योगदानलाई देशभर फैलाउँदै नेपाल संवत समग्र नेपालीहरुको संवत भएको प्रचार गर्नु आवश्यक रहेको बताए।
मन्त्री प्रजापतिले नेपाल सम्बत र शंखधर साख्वाःको योगदानको संचालित गतिविधि चासो दिनु भएको थियो। अवलोकन गर्न गएका प्रतिनिधि सभा सदस्य मदनकृष्ण श्रेष्ठ, प्रदेश पर्यटन मन्त्रालयका सचिव दीपेन्द्र सुबेदीलगायतलाई प्रतिष्ठानका अध्यक्ष ज्ञानराम प्रजापतिले शङ्खधर साख्वाःको योगदानका बारेमा जानकारी गराएका थिए। उनले तीन तहकै सरकारले साख्वाःको संग्रहालयको बिस्तार गर्न आग्रह गरे।


