
बिहीबारयता बाढी, पहिरो लगायतका विपद्मा परी ६ जनाको मृत्यु
काठमाडौं । अविरल वर्षाको कारण गत असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी हालसम्म ६ जनाको मृत्यु भएको छ ।
बाढी, पहिरो लगायतका विपद्मा परी बागमती प्रदेशमा २ जना, लुम्बिनी प्रदेशमा २ जना, गण्डकी प्रदेशमा १ जना र कर्णाली प्रदेशमा १ जना गरी जम्मा ६ जनाको मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको हो ।
बाढी, पहिरो लगायतका विपद्मा परी २ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ । साथै ४ सय ७ जनाको उद्धार गरिएको प्रहरीको भनाइ छ ।
यसका साथै प्रहरीले बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयबासीको समन्वय र सहयोगमा गरिरहेको केन्द्रीय समाचार कक्षले जनाएको छ ।


