
६३ मेगावाटको छुजुङ खोला जलविद्युतमा ९ अर्ब ऋण जुट्यो, माछापुच्छ्रे बैंकको अगुवाइ
संखुवासभाको भोटखोला गाउँपालिका–२ मा निर्माणाधीन ६३ मेगावाट क्षमताको छुजुङ खोला अर्धजलाशययुक्त जलविद्युत आयोजनाका लागि ९ अर्ब रुपैयाँ ऋण लगानी जुटेको छ।
सांग्रिला ऊर्जा लिमिटेडले निर्माण गरिरहेको आयोजनामा माछापुच्छ्रे बैंकको अगुवाइमा विभिन्न बैंक तथा वित्तीय संस्थाबीच सहवित्तीयकरण ऋण सम्झौता भएको हो।
सम्झौताअनुसार आयोजनाको कुल अनुमानित लागत १२ अर्ब रुपैयाँमध्ये ९ अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थाको ऋणबाट जुटाइनेछ भने बाँकी ३ अर्ब रुपैयाँ संस्थापक समूहको स्वपुँजी अर्थात् इक्विटीबाट लगानी हुनेछ।
सहवित्तीयकरणमा माछापुच्छ्रे बैंक अगुवा बैंकका रूपमा रहेको छ। प्रभु बैंक र लुम्बिनी विकास बैंक सह–अगुवा बैंकका रूपमा सहभागी छन् भने मुक्तिनाथ विकास बैंक, एनआईसी एशिया बैंक र सांग्रिला डेभलपमेन्ट बैंक सदस्य बैंकका रूपमा रहेका छन्। भदौ १० गतेको भोटेकोशी विपद्पछि वित्तीय व्यवस्थापन सम्पन्न हुने ठूला जलविद्युत आयोजनामध्ये छुजुङ पहिलोमध्येको आयोजना रहेको प्रवर्द्धकको भनाइ छ।
प्रतिमेगावाट लागत १९ करोड
आयोजनाको कुल लागत १२ अर्ब रुपैयाँ अनुमान गरिएको छ। यसअनुसार प्रतिमेगावाट लागत करिब १९ करोड रुपैयाँ पर्ने देखिन्छ। आयोजना चार घण्टा अर्धजलाशययुक्त प्रकृतिको हुनेछ। वित्तीय व्यवस्थापन सम्पन्न भएसँगै निर्माण अघि बढाउन आवश्यक मुख्य वित्तीय स्रोत सुनिश्चित भएको कम्पनीले जनाएको छ। नेपाल विद्युत प्राधिकरणसँग आयोजनाको विद्युत खरिद सम्झौता (पीपीए) भइसकेको छ। कम्पनीको सम्भाव्यता अध्ययनअनुसार आयोजनाबाट वार्षिक ३७ करोड १८ लाख युनिट विद्युत उत्पादन हुनेछ। आयोजनाको विद्युतगृह भूमिगत रहने प्रस्ताव गरिएको छ। हाल आयोजना स्थल याकखर्क क्षेत्रमा हेलिकोप्टरमार्फत निर्माण सामग्री ढुवानी गरी प्रारम्भिक निर्माण कार्य अघि बढाइएको छ।
पहिलो वर्षमै २ अर्ब २७ करोड आम्दानीको प्रक्षेपण
आयोजना सञ्चालनमा आएपछि पहिलो वर्ष करिब २ अर्ब २७ करोड रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरिएको छ। सञ्चालनको नवौं वर्षसम्म पुग्दा वार्षिक आम्दानी बढेर करिब २ अर्ब ८४ करोड रुपैयाँ पुग्ने अनुमान छ। पीपीएअनुसार आयोजनाले नेपाल विद्युत प्राधिकरणबाट वार्षिक ३ प्रतिशतका दरले आठपटक मूल्यवृद्धि पाउनेछ। आयोजनाको वित्तीय विश्लेषणअनुसार इक्विटीमा प्रतिफल (ROE) २५.६७ प्रतिशत र आन्तरिक प्रतिफल दर (IRR) १५.४७ प्रतिशत रहने अनुमान गरिएको छ। त्यस्तै, लाभ–लागत अनुपात १.५८, खुद वर्तमान मूल्य (NPV) ५ अर्ब ३३ करोड रुपैयाँ र साधारण पेब्याक अवधि करिब ५.७३ वर्ष रहने प्रक्षेपण गरिएको छ।
घलेम्दी हाइड्रोको १ अर्ब १० करोड लगानी
आयोजनामा प्रमुख सेयरधनीका रूपमा घलेम्दी हाइड्रो लिमिटेडको करिब १ अर्ब १० करोड रुपैयाँ लगानी रहेको छ। घलेम्दी हाइड्रोले हाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका क्षेत्रमा ५ मेगावाट क्षमताको घलेम्दी खोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ। सांग्रिला ऊर्जा प्रवर्द्धक रहेको छुजुङ खोलामा बैंक तथा वित्तीय संस्थाबाट ठूलो ऋण लगानी जुटेसँगै आयोजना निर्माण अघि बढाउन आवश्यक वित्तीय आधार तयार भएको छ।
५५ किलोमिटर लामो २२० केभी प्रसारण लाइन
आयोजनाबाट उत्पादन हुने विद्युत विद्युतगृहबाट करिब ५५ किलोमिटर टाढा रहेको नेपाल विद्युत प्राधिकरणको शीतलपाटी २२० केभी सबस्टेशनमा जोडिनेछ। यसका लागि आयोजनाले ५५ किलोमिटर लामो २२० केभी क्षमताको डबल सर्किट प्रसारण लाइन निर्माण गर्नुपर्नेछ।
सांग्रिला ऊर्जाले सोही नदी करिडोरमा निर्माण हुने अन्य जलविद्युत आयोजनासँगको साझेदारीमा उक्त प्रसारण लाइन निर्माण गर्ने सम्झौता गरेको जनाएको छ। करिडोरमा थप आयोजना आउने भएकाले प्रसारण लाइनको प्रतिआयोजना लागत घट्ने अपेक्षा गरिएको छ।
पहुँचमार्ग र क्याम्प निर्माण सम्पन्न
आयोजना निर्माणका लागि आवश्यक रुख कटानको काम पनि सम्पन्न भएको कम्पनीले जनाएको छ। ‘एक रुख काटेपछि १० रुख रोप्ने’ नीतिअनुसार आयोजनाले वृक्षरोपण तथा संरक्षणका लागि वन तथा भू–संरक्षण विभागलाई ३ करोड ६३ लाख रुपैयाँ उपलब्ध गराएको छ। आयोजनाको १४ किलोमिटर लामो पहुँचमार्ग र आवश्यक क्याम्प निर्माणसमेत सम्पन्न भइसकेको छ।
‘लगानीमा कमी हुन दिँदैनौँ’
माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले आयोजना तोकिएको समयमा सम्पन्न गरी राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न बैंक तथा सहवित्तीयकरणमा सहभागी संस्थाहरू प्रतिबद्ध रहेको बताए।
उनले निर्माणमा सुरक्षा, गुणस्तर र समयसीमालाई विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का अध्यक्ष मोहनकुमार डाँगीले प्रवर्द्धक अनुभवी रहेको र बैंकहरूको कन्सोर्टियम बलियो भएकाले आयोजना निर्धारित समयमै सम्पन्न हुने विश्वास व्यक्त गरे। उनले जलविद्युत आयोजनामा निर्माण समय लम्बिँदा निर्माण अवधिको ब्याज बढ्ने र समग्र वित्तीय प्रतिफल कमजोर हुने भएकाले समयमै काम सम्पन्न गर्नु महत्वपूर्ण हुने बताए।
९०० मिटरभन्दा बढी हेड
सांग्रिला ऊर्जाका कार्यकारी अध्यक्ष किशोर सुवेदीका अनुसार आयोजनाको हेड ९०० मिटरभन्दा बढी रहेकाले क्षमताको तुलनामा अत्यधिक ठूला संरचना बनाउनुपर्ने अवस्था छैन।यसले आयोजना कम लागत र तुलनात्मक रूपमा छोटो अवधिमा निर्माण गर्न सहयोग पुग्ने कम्पनीको दाबी छ। कम्पनीका अनुसार आयोजनाको क्याचमेन्ट क्षेत्रको ५९ प्रतिशतभन्दा बढी भूभाग तीन हजार मिटरभन्दा माथि रहेकाले हिउँदमा समेत तापक्रम बढेसँगै पानीको बहाव कायम रहने अपेक्षा गरिएको छ।
सांग्रिला ऊर्जाका प्रबन्ध निर्देशक पुष्कर पौडेलले आयोजना सुक्खायाममा पनि दैनिक चार घण्टा ६३ मेगावाट पूर्ण क्षमतामा सञ्चालन हुने गरी डिजाइन गरिएको बताए। उनका अनुसार आयोजना मुख्य नदीभन्दा करिब ४५ मिटर माथि रहेकाले भोटेकोशीमा देखिएको जस्तो प्रलयबाट प्रत्यक्ष क्षति हुने जोखिम कम रहनेछ।
१७१ मेगावाटको जलाशय आयोजना पनि अघि बढाउँदै
सांग्रिला ऊर्जाले १७१ मेगावाट क्षमताको जलाशययुक्त जलविद्युत आयोजना पनि अघि बढाउने तयारी गरेको छ। कम्पनीले बाजुराको विच्छ्या क्षेत्रमा छिम्दी–कवाडी खोला जलविद्युत आयोजना विकास गर्न लागेको हो। हाल उक्त आयोजनाको सम्भाव्यता अध्ययन भइरहेको कम्पनीले जनाएको छ।


