
ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठसँग एसियाली पूर्वाधार लगानी बैङ्क (एआइआइबी)का महानिर्देशक रजत मिश्राको प्रतिनिधिमण्डलले भेट गरेको छ।
ऊर्जा मन्त्रालयमा बिहीबार भएको भेटमा ऊर्जा क्षेत्रको विकास र विपद् पूर्वतयारी र पूर्वसूचना प्रणाली बलियो बनाउन सहकार्य गर्नेबारे छलफल भएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ।
ऊर्जामन्त्री श्रेष्ठले नेपालको ऊर्जा क्षेत्रलाई क्षेत्रीय ऊर्जा हबका रूपमा विकास गर्नेगरी सहकार्य गर्न प्रस्ताव गरे। नेपालको अर्थतन्त्रको एक प्रमुख आधारका रूपमा ऊर्जा क्षेत्रलाई अगाडि बढाइरहेको भन्दै उनले सहकार्यमा जोड दिए। मन्त्री श्रेष्ठले हालसम्म नेपालको ऊर्जा क्षेत्रमा सहयोग गरेकामा धन्यवाद पनि दिए।
मन्त्री श्रेष्ठले कर्णालीको सुर्खेत, सल्यान, जाजरकोट, कालीकोट, रुकुम पश्चिम, जुम्ला, मुगु, हुम्ला र लुम्बिनीको दाङ, बाँके, बर्दिया र रोल्पामा एआइआइबीको लगानीमा निर्माण भइरहेको प्रसारण लाइन निर्माण, सबस्टेसनको विस्तार एवं वितरण प्रणालीको सुदृढीकरणका विषयमा उल्लेख गरे। उनले आगामी दिनमा अन्य सहरोन्मुख र सहरी क्षेत्रमा आन्तरिक खपत बढाउन वितरण प्रणाली तथा प्रसारण लाइनको निर्माण कार्यमा सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे।
मन्त्री श्रेष्ठले आगामी १० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने नेपालको लक्ष्यमा एआइआइबीजस्ता साझेदार निकायले विशेष सहकार्य जरुरी रहेको बताए। उनले भोटेकोशी बाढीपछि बाढी पूर्वानुमान प्रणालीलाई तीन दिनबाट पाँच दिनमा विस्तार गरिएको जानकारी गराए।
नेपालको विद्युत् क्षेत्रमा रहेका नीतिगत कमजोरी पहिचान गरी निजी क्षेत्र तथा साझेदार निकायको लगानीका लागि सहज वातावरण बनाउन तयारी भइरहेको र एआइआइबीजस्ता पूर्वाधार साझेदारबाट महत्त्वपूर्ण नीतिगत सुझावको अपेक्षा गरिएको उनले बताए।
एआइआइबीका प्रतिनिधिले नेपालको प्रसारण लाइन र वितरण प्रणालीलाई एकीकृत रूपमा स्तरोन्नति गर्न सहयोग गर्ने प्रतिबद्धता जनाए। उनीहरूले विपद्पछिको पुनःरुत्थान र पुनर्निर्माणमा सघाउने प्रतिबद्धता पनि जनाए। छलफलमा एआइआइबीले विद्युत् प्रणालीमा ‘डिजिटल’ पूर्वाधार विकास गर्ने इच्छा व्यक्त गरेको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ।


