
दुई महिनामा वाणिज्य बैंकहरूबाट ६१ अर्ब कर्जा विस्तार, ग्लोबल आइएमई बैंक अग्रस्थानमा
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूको कर्जा लगानी उल्लेख्य रूपमा बढेको छ। असार मसान्तदेखि भदौ मसान्तसम्मको अवधिमा बैंकहरूले कुल ६० अर्ब ९७ करोड (करिब ६१ अर्ब) रुपैयाँ नयाँ कर्जा विस्तार गरेका छन्।
असार मसान्तसम्म बैंकहरूको कुल कर्जा लगानी ५२ खर्ब ८९ अर्ब ६८ करोड रुपैयाँ रहेकोमा भदौ मसान्तसम्म आइपुग्दा यो आकार बढेर ५३ खर्ब ५० अर्ब ६५ करोड रुपैयाँ पुगेको छ। आर्थिक वर्षको पहिलो महिना साउनमा बैंकहरूको कर्जा विस्तार केही सुस्त देखिएको थियो। असारको तुलनामा साउनमा कुल कर्जा १ अर्ब ७१ करोड रुपैयाँले घटेर ५२ खर्ब ८७ अर्ब ९७ करोड रुपैयाँमा झरेको थियो। तर, भदौ महिना सुरु भएसँगै कर्जाको मागमा तीव्र सुधार आएको तथ्यांकले देखाउँछ। भदौ महिनामा मात्रै वाणिज्य बैंकहरूले ६२ अर्ब ६८ करोड रुपैयाँभन्दा बढी कर्जा बजारमा पठाएका छन्।
दुई महिनाको अवधिमा सबैभन्दा धेरै कर्जा प्रवाह गर्नेमा ग्लोबल आइएमई बैंक शीर्ष स्थानमा देखिएको छ। बैंकले यस अवधिमा २० अर्ब १ करोड रुपैयाँ थप कर्जा लगानी गरेको छ। यस्तै, दोस्रो धेरै कर्जा बढाउनेमा एभरेष्ट बैंक रहेको छ, जसले दुई महिनामै १२ अर्ब ८८ करोड रुपैयाँ नयाँ कर्जा प्रवाह गरेको छ।
१० अर्बभन्दा बढीले कर्जा विस्तार गर्नेमा लक्ष्मी सनराइज बैंक पनि सफल भएको छ। लक्ष्मी सनराइजले १० अर्ब ३१ करोड रुपैयाँ कर्जा बढाएको छ। यसबाहेक कुमारी बैंकले ७ अर्ब ६५ करोड, नबिल बैंकले ७ अर्ब ६ करोड, सिद्धार्थ बैंकले ४ अर्ब ८० करोड, माछापुच्छ्रे बैंकले ४ अर्ब ७४ करोड र एनएमबि बैंकले ४ अर्ब २९ करोड रुपैयाँले कर्जा लगानी वृद्धि गरेका छन्।
कुल कर्जा लगानीको आकारका हिसाबले ग्लोबल आइएमई बैंक र नबिल बैंकबीच तीव्र प्रतिस्पर्धा देखिएको छ। भदौ मसान्तसम्ममा ग्लोबल आइएमई बैंक ४ खर्ब ९६ अर्ब ८५ करोड रुपैयाँ कुल कर्जासहित पहिलो स्थानमा उक्लिएको छ। नबिल बैंक ४ खर्ब ९५ अर्ब ४ करोड रुपैयाँ कर्जा प्रवाह गरी दोस्रो स्थानमा रहेको छ। त्यसैगरी नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ३ खर्ब ५९ अर्ब ७९ करोड, राष्ट्रिय वाणिज्य बैंक ३ खर्ब ४९ अर्ब ७१ करोड र लक्ष्मी सनराइज बैंक ३ खर्ब ३० अर्ब ७७ करोड रुपैयाँ कर्जा लगानीसहित शीर्ष पाँचभित्र पर्न सफल भएका छन्।
समग्र बैंकिङ प्रणालीमा कर्जा बढे पनि समीक्षा अवधिमा सातवटा बैंकको कर्जा प्रवाह भने घटेको छ। सबैभन्दा धेरै कर्जा संकुचन एनआईसी एशिया बैंकमा देखिएको छ, जहाँ दुई महिनाको अवधिमा कर्जा लगानी ६ अर्ब ६९ करोड रुपैयाँले घटेर २ खर्ब ४ अर्ब ४४ करोडमा सीमित भएको छ।
यस्तै सानिमा बैंकको कर्जा ३ अर्ब ४६ करोड, प्रभु बैंकको २ अर्ब ७९ करोड र प्राइम कमर्सियल बैंकको १ अर्ब ४१ करोड रुपैयाँले घटेको छ। त्यसैगरी नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, हिमालयन बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकको कर्जा लगानीमा पनि सामान्य गिरावट आएको छ।


