
दुई महिनामा व्यापार घाटा करिब साढे ३ खर्ब
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा नेपालको व्यापार घाटा २६ प्रतिशतले बढेर ३ खर्ब २४ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ। भन्सार विभागको तथ्याङ्क अनुसार अघिल्लो वर्षको सोही अवधिमा २ खर्ब ५७ अर्ब ८३ करोड रुपैयाँ रहेको व्यापार घाटा चालु आवको साउन र भदौमा ह्वात्तै बढेको हो।
यसपटकको वैदेशिक व्यापारमा आयात र निर्यात दुवै तर्फ अस्वाभाविक वृद्धि देखिएको छ, जसको मुख्य कारण कच्चा सोयाबिन तेलको पुन:प्रशोधन व्यापार हो। दुई महिनामा कुल निर्यात ६१.८६ प्रतिशतले बढेर ७६ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । गत वर्ष ४७ अर्ब ३१ करोड रुपैयाँ थियो। तर, कुल ७६ अर्बको निर्यातमा आधाभन्दा बढी हिस्सा अर्थात् ३६ अर्ब रुपैयाँ त सोयाबिन तेलकै मात्र रहेको छ।
त्यस्तै, आयात तर्फ पनि सोयाबिन तेल नै शीर्ष स्थानमा देखिएको छ। दुई महिनामा कुल आयात ३१.५८ प्रतिशतले बढेर ४ खर्ब १ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा ३ खर्ब ५१ अर्ब ५५ करोड रुपैयाँको आयात भएको थियो। आयात भएका प्रमुख वस्तुहरूमा सबैभन्दा बढी ३८ अर्बको कच्चा सोयाबिन तेल नेपाल भित्रिएको छ।
त्यस्तै, कुल व्यापारमा आयातको हिस्सा ८६.५८ प्रतिशतबाट घटेर ८३.९८ प्रतिशतमा झरेको छ। आयातको तुलनामा निर्यातको हिस्सा बढ्दै जानुलाई नेपालको वैदेशिक व्यापारका लागि सकारात्मक संकेतका रूपमा हेरिएको छ। आयात र निर्यातबीचको अनुपातसमेत गत वर्ष ६.४५ बाट घटेर यस वर्ष ५.२४ मा झरेको छ।

