
भारी वर्षाको चेतावनीपछि अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन
काठमाडौँ । भारीदेखि अति भारी वर्षाको सम्भावना रहेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशभरका अस्पताल तथा स्वास्थ्य संस्थालाई सम्भावित विपद्को सामना गर्न तयारी अवस्थामा रहन निर्देशन दिएको छ। जल तथा मौसम विज्ञान विभाग र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पूर्वानुमानअनुसार थप वर्षा हुन सक्ने भएकाले बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्का कारण दुर्घटना, चोटपटक र जनस्वास्थ्यमा असर पर्न सक्ने अवस्थालाई ध्यानमा राख्दै मन्त्रालयले आकस्मिक स्वास्थ्य सेवा तयारी अवस्थामा राख्न भनेको हो।
मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन इकाईले विज्ञप्ति जारी गर्दै अस्पताल तथा स्वास्थ्य संस्थालाई आवश्यक स्वास्थ्य जनशक्ति, औषधि र उपचार सामग्री पर्याप्त मात्रामा तयारी अवस्थामा राख्न निर्देशन दिएको छ। विपद्का कारण घाइते तथा बिरामीको चाप बढ्न सक्ने भएकाले आकस्मिक स्वास्थ्य सेवा निरन्तर सञ्चालनको व्यवस्था मिलाउन र आवश्यकता अनुसार स्वास्थ्यकर्मी परिचालन गर्न पनि मन्त्रालयले भनेको छ।
त्यस्तै, बिरामी तथा घाइतेलाई एक स्वास्थ्य संस्थाबाट अर्कोमा स्थानान्तरण गर्नुपर्ने अवस्था आउन सक्ने भएकाले एम्बुलेन्स सेवा प्रभावकारी रूपमा सञ्चालन गर्न र सम्बन्धित निकायबीच आवश्यक समन्वय कायम गर्न निर्देशन दिइएको छ।
विपद्को अवस्था सिर्जना भएमा संघीय तथा प्रदेशस्तरका स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रसँग समन्वय गरी आवश्यक स्वास्थ्य व्यवस्थापन गर्न पनि अस्पताल तथा स्वास्थ्य संस्थालाई आग्रह गरिएको छ। मन्त्रालयले बाढी, पहिरो तथा अन्य विपद्का कारण स्वास्थ्य सेवा प्रभावित हुन नदिन औषधि, उपचार सामग्री र जनशक्तिको पूर्वतयारीलाई प्राथमिकतामा राख्न समेत निर्देशन दिएको छ।


