
भोटेकोसीको विनाशकारी बाढीबाट माथिल्लो त्रिशुली ३ ‘बी’ आयोजनामा ठुलो क्षति, १७९ जना अझै बेपत्ता
काठमाडौं । त्रिशुली जलविद्युत कम्पनी लिमिटेडद्वारा नुवाकोटको किस्पाङ गाउँपालिका-५, सिरुपानीमा निर्माणाधीन ३७ मेगावाटको ‘माथिल्लो त्रिशुली ३ बी’ जलविद्युत आयोजनामा गत भदौ १० गते भोटेकोसीमा आएको विनाशकारी बाढीले व्यापक क्षति पुर्याएको छ। कम्पनीले असोज ४ गते नेपाल धितोपत्र बोर्ड तथा नेपाल स्टक एक्सचेन्ज लगायतका निकायहरूलाई आयोजनाको अद्यावधिक अवस्थाबारे औपचारिक पत्र पठाउँदै सो घटनाबारे जानकारी गराएको हो।
बाढीका कारण आयोजना स्थलमा कार्यरत कम्पनीका कर्मचारी, परामर्शदाता, निर्माण व्यवसायीका कामदार तथा तिनका परिवारका सदस्य गरी कुल १८५ जना सम्पर्कविहीन भएकोमा हालसम्म ६ जनाको मात्र शव फेला परेको छ भने बाँकी १७९ जनाको अवस्था अझै अज्ञात रहेको छ। बेपत्ता हुनेहरूमा कम्पनीका २१ जना करार कर्मचारी, ६ जना पारिवारिक सदस्य, १८ जना परामर्शदाता, एचएनएसी जियाङ्गे जे.भी.का ७ जना र फेवा कन्सट्रक्सन लिमिटेडका १३३ जना रहेका छन्। नेपाली सेना तथा कम्पनीका तर्फबाट भदौ १४ गतेदेखि निरन्तर उत्खनन तथा खोजतलास जारी राखिएको र उत्खनन कार्य हाल अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ।
बाढीले आयोजनाको कार्यालय तथा आवासीय भवनहरू पूर्ण रूपमा बगाएको छ; उत्खननका क्रममा भवनका भग्नावशेषसमेत फेला नपरी ठुला ढुङ्गा र क्षतविक्षत कङ्क्रिट मात्र भेटिएका छन्। त्यसै गरी, आयोजनाका सवारी साधन, हेडपोन्ड, एप्रोच प्रेसर कन्ड्युट र पावरहाउस क्षेत्र पूर्ण रूपमा बगाएको छ भने सुरुङ (टनेल) मा आंशिक क्षति पुगेको छ। कम्पनीका अनुसार आयोजनाका सम्पूर्ण भौतिक संरचना, सवारी साधन तथा कर्मचारीहरूको बीमा (Contractor’s All Risk, Erection All Risk, सवारी तथा सामूहिक दुर्घटना बीमा) हाल चालु अवस्थामै रहेको छ।

