
देवानगञ्जमा गोली प्रहारबाट युवक घाइते, दुई जना पक्राउ
काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मा गोली प्रहारबाट एक युवक घाइते भएका छन् । गोली लागेर स्थानीय निरज यादव घाइते भएका हुन् । प्रहरीका अनुसार यादवको तिघ्रामा गोली लागेको छ । उनको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी चन्द्र खड्काले गोली प्रहारको घटना भएको पुष्टि गर्दै घटनाबारे थप विवरण आउन बाँकी रहेको बताए । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूको पहिचान भने प्रहरीले सार्वजनिक गरेको छैन ।
घटनास्थलमा प्रहरी परिचालन गरिएको छ । डीएसपी खड्का पनि घटनास्थलतर्फ गइरहेको बताइएको छ । यसअघि साउनमा पनि देवानगञ्जमा दुई समुदायबीच झडप भएको थियो । झडप नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाउँदा तीन जनाको मृत्यु भएको थियो ।

