
प्राकृतिक विपद्बाट हरेक वर्ष जीडीपीको ६ प्रतिशत क्षति भइरहेको छ : गुणाकर भट्ट
काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले प्राकृतिक विपद्का कारण नेपालले ठूलो आर्थिक क्षति बेहोर्दै आएको बताएका छन् । पछिल्लो विपद्बाट भएको क्षति र नोक्सानीलाई हेर्दा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को करिब ६ प्रतिशत बराबरको क्षति भएको उनले बताए ।
शुक्रबार आयोजित राष्ट्रिय वित्तीय साक्षरता कार्यक्रममा बोल्दै भट्टले भूकम्पबाहेकका प्राकृतिक विपद्का कारण नेपालले यसअघि हरेक वर्ष कुल गार्हस्थ्य उत्पादनको करिब दुई प्रतिशत बराबरको क्षति बेहोर्दै आएको तथ्याङ्क रहेको बताए । प्राकृतिक विपद् र जलवायु परिवर्तनका कारण उत्पन्न जोखिमलाई वित्तीय साक्षरतासँग जोडेर अघि बढाउनुपर्ने आवश्यकता रहेको उनले बताए । वित्तीय सेवा प्रवाह तथा वित्तीय साक्षरता प्रवर्धनका कार्यक्रमलाई वातावरणीय जोखिम र जलवायु परिवर्तनबाट उत्पन्न असरलाई समेत समेटेर लक्षित वर्गसम्म पुर्याउनुपर्ने उनको भनाइ छ ।
उनले वित्तीय सेवाका लक्षित ग्राहकसँगै पछाडि परेका क्षेत्र, समुदाय तथा महिला उद्यमीलाई पनि जलवायु तथा विपद्जन्य जोखिमबारे वित्तीय जानकारी दिनुपर्ने बताए ।
उनले भने, ‘हामीले हेर्ने हो भने भूकम्पबाहेकका अरू प्राकृतिक विपद्का कारणले नेपालले हरेक वर्ष कुल गार्हस्थ्य उत्पादनको दुई प्रतिशत हानि–नोक्सानी भइरहेको छ भन्ने हामीले हेर्ने गर्थ्यौँ । तर पछिल्लो घटना हेर्दा र अहिलेसम्मको उपलब्ध तथ्याङ्कले जुन चार सय अर्बको क्षति र नोक्सानी भएको देखाएको छ, यसले ६ प्रतिशत हानि–नोक्सानी भएको देखाउँछ । त्यसैले हामीले वित्तीय साक्षरता प्रवर्धन गर्ने अथवा वित्तीय सेवा प्रवाह गर्ने यी सबै कुराहरूको अन्तरसम्बन्ध अब वातावरणीय जोखिमसँग पनि अथवा जलवायु परिवर्तनबाट उत्पन्न भएको जुन दुष्परिणाम छ, त्यससँग पनि जोडेर वित्तीय सेवाका लक्षित ग्राहकहरू र अझ पछाडि परेका क्षेत्र, समुदाय, महिला उद्यमीहरूसम्म पनि यो विषय उत्तिकै जानकारीमूलक ढङ्गले अगाडि बढाउनुपर्छ ।
त्यस्तै कार्यक्रममा अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्यायले नेपालमा वित्तीय क्षेत्रमा ठूलो सम्भावना भए पनि वित्तीय साक्षरताको कमीका कारण त्यसको पूर्ण उपयोग हुन नसकेको बताए । उनले वित्तीय साक्षरता जोखिम व्यवस्थापनका लागि मात्र नभई अर्थतन्त्रमा पैसाको प्रवाह बढाउनसमेत महत्त्वपूर्ण रहेको बताए । उपाध्यायले वित्तीय साक्षरतालाई जोखिम व्यवस्थापनसँग मात्र जोडेर हेर्न नहुने बताए । वित्तीय प्रणालीमा पैसाको प्रवाह र त्यसको चक्र बढ्दै जाँदा अर्थतन्त्रसमेत लाभान्वित हुने उनको भनाइ छ ।
उनले भने,‘वित्तीय क्षेत्रमा हाम्रो ठूलो सम्भावना हुँदाहुँदै पनि वित्तीय साक्षरता कम भएकै कारण यसको प्रयोग चाहिँ कम भएको देखिएको छ । हामीले रिस्क म्यानेजमेन्टको दृष्टिकोणले मात्र पनि होइन, यसको क्यास फ्लो र यसको जुन चक्र हुन्छ, पैसाको चक्र जति बढ्दै गयो, अर्थतन्त्र त्यति नै लाभान्वित हुँदै जाने हो । पैसाको मोबिलिटी बढाउन पनि वित्तीय साक्षरताको महत्त्व रहन्छ।’

