
माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको टनेलमा ६ शव भेटिए
रसुवामा भदौ १० गते भोटेकोसीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाका व्यक्तिहरूमध्ये ६ जनाको शव फेला परेको छ । नेपाली सेनाका अनुसार आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले अडिट–३ सुरुङभित्र खोजी गर्ने क्रममा ढलानका लागि बुनिएको डन्डीको जालीको भित्री भागमा अल्झिएको अवस्थामा ६ वटा शव फेला पारेको हो ।
सेनाले ग्राइन्डर, ग्यास कटर र रोटरी रेस्क्यु उपकरणको प्रयोग गरी शवहरू सुरुङबाट बाहिर निकालेको जनाएको छ ।
सुरुङभित्र हिलोले छोपिएको अवस्थामा अन्य शवजस्तो आकृति समेत देखिएको सेनाले जनाएको छ । उक्त क्षेत्रमा थप खोजी तथा उद्धार कार्य जारी रहेको छ । भदौ १० गते रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढी माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङभित्र पसेको थियो । बाढीपछि आयोजनामा कार्यरत केही व्यक्ति सम्पर्कविहीन भएका थिए ।

