
सूर्यज्योती लाइफले १ सय ७१ रुपैयाँ प्रतिकित्ताको दरमा राख्यो संस्थापक शेयर बिक्रीमा



काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर लिलामको बिक्रीमा खुला गरेको छ । हाल एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको ९२ हजार तीन सय ४९ कित्ता संस्थापक शेयरका लागि बिक्री खुला गरिएको हो ।
कम्पनीले दिएको जानकारी अनुसार विद्यमान संस्थापक शेयरधनी, सर्वसाधारण वा संघसंस्था जो कोहीले इच्छुक रहेको अवस्थामा शेयर किन्न सक्नेछन् । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १ सय ७१ रुपैयाँ निर्धारण गरिएको छ भने शेयर खरीदका लागि बोलकबोल गर्दा घटीमा पाँच हजार कित्ता र बढीमा सम्पूर्ण कित्ता शेयर खरीदका लागि आवेदन दिन मिल्नेछ ।
सोही शेयर खरीद गर्न इच्छुकले बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडका साथै एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालय वा विराटनगर, आदर्शनगर, महेन्द्रपुल, श्रवणपथ, हस्पिटल लाइन र विरेन्द्रनगर शाखा कार्यालयमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ भने बोलपत्र फाराम पनि सोही स्थानमा पाइनेछ ।
आवेदन आज साउन १३ गतेदेखि आउँदो साउन १८ गते कार्यालय समयभित्र पेश गरिसक्नु पर्ने कम्पनीले जानकारी दिएको छ ।

