
भोटेकोशी बाढी : अहिलेसम्म भेटियो एक हजार २९४ शव

काठमाडौं । भोटेकोशी बाढीका कारण ज्यान गुमाउनेको संख्या एक हजार २९४ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यो भदौ १९ गते साँझ ६ः३० बजेसम्मको अद्यावधिक विवरण हो।
प्राधिकरणका अनुसार बाढीका कारण सबैभन्दा बढी मानवीय क्षति चितवनमा भएको छ, जहाँ ३५९ जनाको शव फेला परेको छ। नवलपरासी पूर्वमा २२१, नवलपरासी पश्चिममा २१२, नुवाकोटमा १८४, रसुवामा १४०, गोरखामा ७३, धादिङमा ६७ र तनहुँमा ३८ जनाको शव फेला परेको छ। फेला परेका शवहरूमध्ये हालसम्म ९६ जनाको मात्र सनाखत भई आफन्तले बुझेका छन्।
हालसम्म कुल १३ हजार ०९५ जनाको उद्धार गरिएको छ । शुक्रबार मात्रै त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका २ जनालाई जीवितै उद्धार गरिएको छ ।
विपद्मा परेकाहरूको खोज र उद्धारका लागि सरकारले २१ हजार ४२१ सुरक्षाकर्मी परिचालन गरेको छ, जसमा नेपाली सेनाका ९ हजार २८७, नेपाल प्रहरीका ७ हजार ९३१ र सशस्त्र प्रहरी बलका ४ हजार २०३ जना सहभागी छन्।
प्राधिकरणको विवरणअनुसार अझै ५ हजार ५३ जना सम्पर्कविहीन रहेका छन्। रसुवाका २ हजार १३० जना, नुवाकोटका २ हजार ३४० जना र ५८३ जना विदेशी नागरिक रहेका छन्। नेपाली सेनाले हालसम्म ८८१ पटक र निजी क्षेत्रका हेलिकप्टरले १२९ पटक उडान गरी उद्धार तथा राहत कार्यमा सहयोग पुर्याएका छन्।
बाढीबाट घाइते भएका ५ हजार ६६३ जनाको उपचार गरिएको छ, जसमध्ये ३ हजार २६६ जनाको नेपाली सेना, २ हजार ८३ जनाको सशस्त्र प्रहरी र ३१४ जनाको विभिन्न अस्पतालमा उपचार गरिएको छ। रसुवा, नुवाकोट र धादिङका ३७ वटा होल्डिङ सेन्टरमा हाल ४ हजार ६२७ जनाले आश्रय लिइरहेका छन्।

