
हिमालयन रिको नेतृत्वको भागाभाग, अध्यक्ष रहेका उदयकुमार निरौलाले पनि छाडे कम्पनीकाे नेतृत्व

काठमाडौं । पुनर्बीलाई निकै संवेदनशील र उच्च जोखिम वहन गर्ने वित्तीय क्षेत्रका रुपमा हेर्ने गरिन्छ । बीमा कम्पनीहरुले गरेको बीमाको पनि पुनर्बीमा गर्ने भएकाले पुनर्बीमा कम्पनीमा स्थायित्व पहिलो शर्त मानिन्छ । तर, विडम्बना नेपालको निजी क्षेत्रबाट सञ्चालित पुनीर्बीमा कम्पनी हिमालय रिमा पछिल्लो समय यो भन्दा उल्टो दृश्य देखिएको छ । कम्पनीको उच्च नेतृत्व सँगै सञ्चालकहरुको भागाभागको अवस्था देखिन्छ । नेतृत्वमा आउनेहरु लामो समय टिक्ने मुस्किल बनिरहेको छ ।
पछिल्लो हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको नेतृत्वबाट पदाधिकारीहरु बाहिरिने क्रम जारी रहेको छ । उच्च व्यवस्थापन देखि सञ्चालक समितिका व्यक्तिहरुले पनि धमाधम राजीनामा दिइरहेका छन् । राजीनामा दिने क्रम जारी रहँदा अध्यक्ष रहेको उदयकुमार निरौलालले आफ्नो पदबाट राजीनामा दिएका छन् । पछिल्लो समय कम्पनी संस्थागत सुशासन र व्यावसायिक स्थायित्वमाथि गम्भीर प्रश्न खडा भइरहेको । नेतृत्वमा आएका व्यक्तिहरु धमाधम राजीनामा दिने क्रमले कम्पनीको संकट थप बढाएको छ । पूर्वअध्यक्ष शेखर गोल्छाको बहिर्गमनपछि गत चैतमा अध्यक्षको जिम्मेवारी लिएका निरौलाले छोटो अवधिमै पद छाडेका छन् । उनको राजीनामा सञ्चालक समितिले स्वीकृत समेत गरिसकेको छ ।
हिमालयन रिमा देखिएको यो अस्थिरता नयाँ भने होइन । पछिल्लो केही महिनायता कम्पनीको नेतृत्व र सञ्चालक समिति संरचना व्यापक फेरबदलको चक्रबाट अघि बढी रहेको छ । यसअघि तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) उपासना पौडेल कानुनी विवाद र कारबाही प्रक्रियाका कारण निलम्बनमा परेपछि कम्पनीको दैनिक प्रशासनिक नेतृत्वमै अन्योल सिर्जना भएको थियो । पौडेलको निलम्बनपछि कामु सीईओको जिम्मेवारी सम्हालेका डीसीईओ मुकेशकुमार कपुरले जिम्मेवारी पाएको एक साता नबित्दै पदबाट राजीनामा दिएका थिए ।
सञ्चालक समितिभित्रको दृश्य पनि उस्तै उतारचढावपूर्ण छ । यसअघि अमित मोर, राजीव मोर, शुभेच्छा खरेल र सुभाष कुमार झुनझुनवालासहितका सञ्चालकहरूले सामूहिक राजीनामा दिएका थिए । अन्य संस्थापक समूहका प्रतिनिधि तथा सञ्चालकहरू दीपककुमार मिश्र, शाहिल अग्रवाल, डा. रोहित गुप्ता र पृथ्वीराज थापा समेत विभिन्न चरणमा राजीनामा दिएर बाहिरिसकेका छन् ।
अध्यक्ष निरौलाको बहिर्गमन र उच्च तहका कर्मचारीहरूको क्रमिक राजीनामाले कम्पनीको दीर्घकालीन व्यावसायिक रणनीति, सेयरधनीको विश्वास र दैनिक सञ्चालन प्रक्रियामा प्रत्यक्ष प्रभाव पार्ने देखिएको छ ।

