
‘तयारी जितको’ नाराका साथ धरानमा प्रभु महालक्ष्मी लाइफको अभिकर्ता तालिम तथा सम्मान कार्यक्रम

धरान । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड धरान शाखाको आयोजनामा ‘तयारी जितको’ मूल नाराका साथ अभिकर्ताहरूका लागि विशेष तालिम तथा सम्मान कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।
अभिकर्ताहरूको क्षमता अभिवृद्धि, व्यावसायिक कुशलता विकास एवं आगामी समयमा बजार विस्तारलाई अझ सशक्त बनाउने लक्ष्यका साथ सञ्चालित उक्त कार्यक्रममा एजेन्सी म्यानेजर, सिनियर एजेन्सी म्यानेजर तथा क्रियाशील अभिकर्ताहरूको उत्साहजनक उपस्थिति रहेको थियो।
कार्यक्रममा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका “कोशी बि” प्रदेश प्रमुख जगत नाथ फुयलले मुख्य प्रशिक्षकका रूपमा तालिम प्रदान गर्नुभएको थियो। सो क्रममा उहाँले जीवन बीमा क्षेत्रमा अभिकर्ताको भूमिका, ग्राहकसँगको मजबुत सम्बन्ध, प्रभावकारी कार्ययोजना एवं निर्धारित लक्ष्य हासिल गर्ने रणनीतिका विषयमा सहजीकरण गर्नुभएको थियो।
त्यसैगरी, समारोहमा उत्कृष्ट नतिजा हासिल गर्ने तथा सक्रिय अभिकर्ताहरूलाई कदरपत्रसहित सम्मान गरिएको थियो। यस प्रकारको सम्मानले अभिकर्ताहरूमा नयाँ जोस र जाँगर थप्दै भविष्यमा अझ तीव्रताका साथ व्यवसाय अघि बढाउन प्रोत्साहन मिल्ने विश्वास लिइएको छ।
उक्त कार्यक्रमको सञ्चालन धरान शाखा प्रमुख देविन राईले गर्नुभएको थियो। शाखाले आफ्ना अभिकर्ताहरूको दक्षता अभिवृद्धिसँगै उत्कृष्ट ग्राहक सेवा र बजार प्रवर्द्धनलाई जोड दिँदै आगामी दिनमा पनि यस्ता रचनात्मक कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

