
प्रधानमन्त्री राहत कोषमा इप्पानको १३ करोड १ रुपैयाँ सहयोग, कुन कम्पनी तथा व्यक्तिको कति ?

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) मा आबद्ध ऊर्जा उद्यमीहरूले भोटेकोशी नदीमा आएको बाढी प्रभावितहरूको उद्धार, राहत र पुनःर्निर्माणको लागि १३ करोड १ लाख रुपैयाँ सहयाेग गरेका छन् । इप्पानमा आबद्ध ऊर्जा उद्यमीहरूको तर्फबाट संस्थाका अध्यक्ष मोहनकुमार डाँगीले सिंहदरबारस्थित मन्त्रालयमा आज आयोजित एक कार्यक्रमबीच ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
ऊर्जा उद्यमीहरूले आआफ्नो तर्फबाट पनि सो रकम हस्तान्तरण गरेका थिए । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलवायु परिवर्तनको कारणले जलविद्युत् परियोजना भौगोलिक तथा विपद्का समस्या भोग्नुपरेकाले आगामी दिनमा जलवायु परिवर्तनमैत्री संरचना निर्माणमा ध्यान दिनुपर्ने बताए । उनले विपद्मा परेको बेला राज्यलाई आर्थिक सहयोग गरेर सङ्कटको घडीमा साथसाथै रहेको भावना विकास गर्न सकेको बताए । इप्पानका अध्यक्ष डाँगीले ऊर्जा उद्यमीहरू सङ्कटको घडीमा राज्यको विपद् कोषमा आर्थिक सहयोग गरेको बताए । उनले भोटेकोशी नदीमा आएको बाढीपहिरोबाट १३ वटा जलविद्युत् आयोजना प्रभावित भएको बताउँदै पीडितको घाउमा मलम लगाउने प्रयास गरेको बताए ।



