
मनकारी चन्द्र ढकाल : १० करोड सहयोगपछी सामाजिक संजालमा के लेखे ?

काठमाडौ । चन्द्र प्रसाद ढकालले बाढि पीडितलाई आर्थिक सहयोग गरेका छन् । उनले सान्त्वना स्वरुप केही शब्द समेत कोरेका छ्न ।
यस्तो छ उनको लेखाइ :
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ, गोर्खा लगायत नदी तटीय क्षेत्रका विभिन्न जिल्लाहरूमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ। यसले हामी सबैलाई गहिरो पीडा दिएको छ। यस विपदमा ज्यान गुमाउनुभएका दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु। हराइरहेकाहरूको शीघ्र उद्धार तथा सम्पूर्ण घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।
यस कठिन घडीमा आइएमई ग्रुप परिवार सधैंझैं प्रभावित नागरिकको पक्षमा उभिएको छ। खोज, उद्धार, तत्काल राहत तथा दीर्घकालीन पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले हामीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड रुपैयाँ सहयोग प्रदान गर्ने निर्णय गरेका छौं। ग्लोबल आइएमई बैंक, आइएमई लिमिटेड, आइएमई लाइफ इन्स्योरेन्स, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लगायत ग्रुप अन्तर्गतका सबै कम्पनी र कर्मचारीहरू समेत यस अभियानमा एकजुट भई सहभागी भएका छौँ।
यसै सिलसिलामा, विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रत्यक्ष रकम पठाउन आइएमईले निःशुल्क सेवा उपलब्ध गराएको जानकारी गराउन चाहन्छु। साथै, स्वदेशमा रहनुभएकाहरूले पनि ग्लोबल आइएमई बैंकको मोबाइल बैंकिङ एपमार्फत सहजै र प्रत्यक्ष रूपमा उक्त कोषमा योगदान पुर्याउन सक्नुहुनेछ। यो व्यवस्थाले सबैको साझा प्रयासलाई थप सहज बनाउने विश्वास लिएको छु।
यस विपद्को घडीमा नेपाल सरकार, स्थानीय प्रशासन, दातृ निकाय तथा निजी क्षेत्र सबै मिलेर उद्धार र राहतमा खटिनुभएको छ। यो साझा प्रयासले नै हामीलाई यो कठिन समय पार गर्न ठूलो बल पुर्याएको छ र यसका लागि सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु।
विपद्को समयमा दिनरात नभनी खटिनुभएका सुरक्षाकर्मी, स्वयंसेवक तथा स्थानीय समुदायलाई पनि हार्दिक धन्यवाद।

