
९ वाणिज्य बैंकद्धारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ६ अर्ब ५५ करोड रुपैयाँभन्दा बढी

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा विभिन्न बैंकमार्फत साढे ६ अर्ब भन्दा बढीको सहयोग जम्मा भएको छ । कोषमा हालसम्म ९ वटा बैंकबा ६ अर्ब ५५ करोड ३३ लाख ६२ हजार रुपैयाँ जम्मा भएको हो ।
उपलब्ध विवरणअनुसार भदौ १२ गतेसम्म कोषमा विभिन्न ९ बैंकमार्फत उक्त रकम जम्मा भएको हो । २०८३ भदौ ११ गतेसम्म कोषमा ४ अर्ब ९ करोड १६ लाख ६ हजार ६ सय ७० रुपैयाँ जम्मा भएकोमा १ दिनमै थप २ अर्ब ४६ करोड २२ लाख १ हजार ३ सय ४१ रुपैयाँ संकलन भएको देखिन्छ । बैंकगत रूपमा हेर्दा सबैभन्दा बढी रकम राष्ट्रिय वाणिज्य बैंकले सहयोग गरेको देखिन्छ । राष्ट्रिय वाणिज्य बैंकले कोषमा ३ अर्ब २७ करोड ९० लाख २ हजार ३ सय ३५ रुपैयाँ जम्मा भएको छ । त्यस्तै, एभरेस्ट बैंकले १ अर्ब ९५ करोड २७ लाख १८ हजार १ सय ८५ रुपैयाँ, स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट ३० करोड ६२ लाख ८८ हजार ७ सय ५० रुपैयाँ, हिमालयन बैंकबाट २३ करोड १७ लाख १४ हजार ९ सय ५३ रुपैयाँ, र नबिल बैंकले १६ करोड ४० लाख ४७ हजार ७०८ रुपैयाँ सहयोग गरेको छ । त्यस्तै ग्लोबल आईएमइ बैंकबाट १३ करोड १ लाख ८० हजार रुपैयाँ जम्मा भएको छ ।
यसैगरी नेपाल बैंकबाट ९ करोड २३ लाख ८८ हजार ६ सय १४ रुपैयाँ, कृषि विकास बैंकबाट ९ करोड ५२ लाख ६२ हजार ७ सय १५ रुपैयाँ र लक्ष्मी सनराइज बैंकबाट ३ करोड ८० लाख ८५ हजार ७ सय ५१ रुपैयाँ जम्मा भएको विवरणमा उल्लेख छ ।
डलरमा पनि ६ लाख ८० हजारभन्दा बढी संकलन
कोषमा अमेरिकी डलरमा समेत रकम जम्मा भएको छ । भदौ १२ गतेसम्म ६ लाख ८० हजार ६ सय १८ अमेरिकी डलर संकलन भएको छ । त्यसमध्ये हिमालयन बैंकबाट ५ लाख ९१ हजार ४ सय ५१ अमेरिकी डलर र लक्ष्मी सनराइज बैंकबाट ८९ हजार १ सय ६७ अमेरिकी डलर जम्मा भएको विवरणमा उल्लेख छ ।

