
बाढी प्रभावितको लागि अपि पावरद्वारा ३५ लाख सहयोग

काठमाडौं । अपि पावरले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा ३५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । बुधबार (भदौ १० गते) बिहान भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद्धार, तत्काल राहत तथा दीर्घकालीन पुनस्र्थापनाका लागि कम्पनीले उक्त रकम सहयोग गरेको हो ।
यो सहयोग रकमले तत्कालै प्रभावित नागरिकहरूको खोज र उद्धारमा सहयोग पुग्ने विश्वास कम्पनीले लिएको छ । उनले खोज र उद्दार कार्यपछि प्रभावितहरुको दीर्घकालीन पुनस्र्थापनाका लागि समेत आवश्यक अनुसार थप सहयोगको लागि कम्पनी तत्पर रहेको बताएकी छिन् ।अपि पावरले बाढीका कारण विभिन्न जलविद्युत आयोजना र अन्य संरचनामा भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
अपि पावरले ज्यान गुमाउने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ । अपि पावरले विभिन्न जलविद्युत आयोजनाका कर्मचारीसहित सम्पूर्ण बेपत्ता नागरिकहरूको तत्काल खोजी र उद्धारको लागि सम्बन्धित निकायसँग जोडदार आग्रह गरेको छ । अपि पावरले यस विषम् परिस्थितिमा थप जनधनको क्षति हुन नदिन अधिकतम् सावधानी अपनाउँदै आ–आफ्नो क्षेत्रबाट खोज, उद्धार र राहतमा सक्दो सहयोग गर्न पनि सबैमा आग्रह गरेको छ ।

