
रसुवा बाढी – सदगुरु जग्गी वासुदेवको ईशा फाउन्डेशनका ७७ सदस्यसहित सयौं बेपत्ता

काठमाडौं । नेपाल–तिब्बत सीमा क्षेत्रमा आएको भीषण आकस्मिक बाढीमा परी आध्यात्मिक गुरु सदगुरु (जग्गी वासुदेव) का ७७ जना अनुयायीसहित सयौँ व्यक्ति बेपत्ता भएका छन्। तिब्बतमा रहेका सदगुरुले यस प्राकृतिक विपत्तिप्रति गहिरो चिन्ता व्यक्त गर्दै ठूलो मानवीय क्षतिको आशङ्का गरेका छन् भने ईशा फाउन्डेशनको ‘एस३ कैलाश तीर्थयात्रा’ मा गएका अमेरिका, क्यानडा, अस्ट्रेलिया, बेलायतसहित विभिन्न देशका ८० जना (३४ पुरुष र ४६ महिला) मध्ये ७७ सदस्य तिब्बतको केरुङ क्षेत्रमा बेपत्ता भएका हुन्।
मुख्य समूहसँगै रहेका स्वयम्सेवक र चिकित्सकहरू भने नजिकैको होटलमा रहेकाले सुरक्षित छन् । सदगुरुले आफू विपद्स्थल जान खोजे पनि सडक अवरुद्ध भएका कारण फर्कनुपरेको बताए । सञ्चार सेवा पूर्ण रूपमा ठप्प भएकाले तिब्बततर्फको आधिकारिक विवरण आउन कठिन भएको छ । उनले मृतकको संख्या १५ सय नाघ्न सक्ने डर व्यक्त गरेका छन् ।
सदगुरुको टोलीले नेपालस्थित चिनियाँ, भारतीय र अमेरिकी दूतावासहरूसँग समन्वय गरिरहेको छ । नेपाली सेना र निजी हेलिकप्टरहरू खोजी र उद्धारमा परिचालन गरिएका छन् ।विस्थापित परिवारका लागि सैनिक ब्यारेकहरूमा अस्थायी आश्रय, खाना र औषधिको व्यवस्था गरिएको छ । अवरुद्ध सडक, पुल र सञ्चार सेवा पुनःस्थापना गर्ने कार्यलाई प्राथमिकता दिइएको छ ।

