
नाडा अटो शोमा कुन बैंकले कति दिँदैछन् अटो लोनमा छुट ?

काठमाडौं । काठमाडौंको मृकुटिमण्डपमा जारी ‘नाडा अटो शो २०२६’ मा विभिन्न बैंकहरुमा पनि स्टल रहेका छन् । मंगलबारदेखि सुरु भएको शोमा बैंकहरुले कर्जामा छुट पनि दिइरहेका छन् ।
शोमा आउने ग्राहकहरुले आफूलाई मन परेको सवारी साधन छनोट गरिसकेपछि बैंकका स्टलहरुमा पुगेर कर्जाका लागि नाम दर्ता गराउन गराउनु पाउँछन् । नाडा अटो शोका लागि बैंकहरुले आधार दरमा ०.५ प्रतिशतदेखि १ प्रतिशतसम्म मात्रै प्रिमियम थपेर कर्जा सुविधा दिइरहेका छन् । शो सुरु भएसँगै सवारी साधन खरिद गर्न चाहने ग्राहकलाई आकर्षित गर्न बैंक तथा वित्तीय संस्थाहरुबीच सस्तो ब्याजदरमा अटो कर्जा दिने प्रतिस्पर्धा चलेको छ । अधिकांश बैंकहरुले आधार दर (बेसरेट) मा सामान्य प्रिमियम मात्र थपेर कर्जा दिइरहेका छन्।
लक्ष्मी सनराइज बैंकले व्यावसायिक सवारी तथा हायर पर्चेजतर्फ ५.४९ प्रतिशत ब्याजदर कायम गरेको छ । यसमा सेवा शुल्क ०.५ प्रतिशत रहेको छ । कर्जाको भुक्तानी अवधि भने विद्युतीय र पेट्रोल सवारी साधनका लागि छुट्टाछुट्टै रहेको बैंकले जनाएको छ । यस बैंकले विद्युतीय सवारी साधनको ब्याट्री लाइफ अनुसार कर्जाको समय तोकेको छ भने पेट्रोल सवारी अधिकतम अवधि ८ वर्ष रहेको छ । नेपाल बैंकले आधार दरमा ०.४९ प्रतिशत प्रिमियम थप गरी अटो कर्जा उपलब्ध गराउने योजना ल्याएको छ । बैंकले प्रशासनिक सेवा शुल्क ०.५० प्रतिशत तोकेको छ । यो योजना विद्युतीयसहित नयाँ निजी तथा व्यावसायिक सवारी खरिदमा लागू हुने बैंकले जनाएको छ । यसैगरी, कृषि विकास बैंकले निजी सवारी खरिदका लागि ५.६६ प्रतिशत ब्याजदरमा अटो लोन उपलब्ध गराएको छ । व्यावसायिक सवारी तथा हायर पर्चेजतर्फ सात वर्षसम्मका लागि ६.३३ प्रतिशत ब्याजदर कायम गरिएको छ। यसमा सेवा शुल्क ०.५० प्रतिशत रहेको छ ।
नबिल बैंकले ५.१७ प्रतिशत ब्याजदरमा अधिकतम सात वर्षसम्मका लागि अटो कर्जा उपलब्ध गराएको छ । बैंकको सेवा शुल्क ०.५० प्रतिशत रहेको छ। व्यावसायिक सवारीका लागि भने ब्याजदर ६.९२ प्रतिशत कायम गरिएको उपलब्ध विवरणमा उल्लेख छ ।
त्यस्तै, प्रभु बैंकले करिब ५.४४ प्रतिशत ब्याजदरमा सात वर्षसम्मका लागि अटो लोन उपलब्ध गराएको छ । निजी तथा व्यावसायिक सवारीका लागि समान ब्याजदर तोकिएको बैंकको योजनामा सेवा शुल्क ०.५० प्रतिशत रहेको छ । गोर्खाज फाइनान्सले पनि सात वर्षसम्मका लागि ६.७१ प्रतिशत ब्याजदरमा अटो कर्जा उपलब्ध गराएको छ। फाइनान्सको सेवा शुल्क भने अन्य केही बैंकको तुलनामा बढी अर्थात् १ प्रतिशत रहेको छ ।
यसैबीच, नाडा अटो शो २०२६ मा महालक्ष्मी विकास बैंकले पनि सहभागिता जनाएको छ। बैंकले अटो शोमा आउने ग्राहकलाई सवारी खरिदका लागि आवश्यक कर्जासम्बन्धी परामर्श, सहजीकरण तथा समन्वय गर्ने जनाएको छ । महालक्ष्मी विकास बैंकका अनुसार विकास बैंकहरुमध्ये प्रतिस्पर्धी ब्याजदरमा सवारी कर्जा उपलब्ध गराउँदै आएको बैंकले अटो शोको अवसरमा आकर्षक ब्याजदर तथा प्रशासनिक शुल्कमा विशेष छुटको व्यवस्था गरेको छ । भदौ महिनाका लागि बैंकको आधार दर ५.६४ प्रतिशत रहेको र यसको प्रत्यक्ष लाभ सवारी कर्जा लिने ग्राहकले लिन सक्ने बैंकले जनाएको छ ।
कुमारी बैंकले १० वर्ष अवधिका लागि ५ प्रतिशत ब्याजदरमा अटो कर्जा दिने भएको छ । यस बैंकले विद्युतीय गाडीको लागि ६०–४० प्रतिशत र पेट्रोल गाडीको लागि ८०–२० प्रतिशत डाउनपेमेन्टको व्यवस्था गरेको छ । बैंकले अटो कर्जाको जोखिम कम हुने भएकाले बेसरेटमै थोरै प्रिमियम जोडेर योजना ल्याएको जनाएको छ । यसले सवारी खरिदकर्तालाई विभिन्न वित्तीय संस्थाका कर्जा योजनाबीच तुलना गरी आफूलाई उपयुक्त विकल्प छनोट गर्ने अवसरसमेत प्रदान गरेको छ ।

