
मनसुनयता सरदरभन्दा कम वर्षा

काठमाडौं । यस वर्ष मनसुन प्रवेश गरेयता ६० दिनको अवधिमा नेपालमा सरदरभन्दा कम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागअन्तर्गत हावा पानी विश्लेषण शाखाका इन्जार्ज सुजन सुवेदीले ५ असारदेखि १ भदौसम्म देशभर मापन गरिएको कुल वर्षा ७४६ दशमलव ८ मिलिमिटर रहेको जानकारी दिए । सो अवधिमा सामान्यतया ८३० दशमलव ६ मिलिमिटर वर्षा हुने गरेकोमा यस वर्ष सरदरको ८९ दशमलव ९ प्रतिशत मात्र वर्षा भएको उनले जानकारी दिए ।
यसअनुसार मनसुनको उक्त अवधिमा सरदरभन्दा ८३ दशमलव ८ मिलिमिटर कम वर्षा भएको देखिन्छ । ‘यस वर्षको मनसुन अवधिमा वर्षाको मात्रा सरदरभन्दा कम देखिए पनि वर्षाको वितरण र स्थानअनुसारको अवस्थालाई समेत विश्लेषण गर्नुपर्ने हुन्छ,’ उनले भने । सुवेदीले मनसुन नेपालको सबैभन्दा संवेदनशील मौसम प्रणाली भएको उल्लेख गर्दै वार्षिक वर्षाको करिब ८० प्रतिशत हिस्सा मनसुन अवधिमै हुने जानकारी दिए ।
जल तथा मौसम विज्ञान विभागले यस मनसुन अवधिमा नेपालमा सरदरभन्दा कम वर्षा हुने र तापक्रम बढ्ने प्रक्षेपण गरेको थियो । विभागका प्रक्षेपणअनुसार यस वर्ष कर्णाली प्रदेशका दक्षिणी भू-भाग, लुम्बिनी प्रदेशका अधिकांश क्षेत्र, मधेश प्रदेशका पूर्वी भू-भाग तथा कोशी प्रदेशका दक्षिणी क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको छ । सुदूरपश्चिम प्रदेशका अधिकांश भू-भाग, मधेस प्रदेशका पश्चिमी भू-भाग तथा कोशी प्रदेशका मध्य भू-भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको विभागले जनाएको छ ।
कर्णाली र कोशी प्रदेशका उत्तरी भू-भागमा भने सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ । बाँकी अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षाको सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागको आकलन छ । अधिकतम तापक्रमतर्फ सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती, मधेस र कोशी प्रदेशका विभिन्न भू-भागमा सरदरभन्दा बढी तापक्रम रहने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको विभागले जनाएको छ ।
न्यूनतम तापक्रम देशभर सरदरभन्दा बढी रहने सम्भावना रहेको विभागको निष्कर्ष छ । विशेषगरी सुदूरपश्चिम, कर्णाली, बागमती, मधेस र कोशी प्रदेशका केही क्षेत्रमा न्यूनतम तापक्रम सरदरभन्दा बढी रहने सम्भावना ५५ देखि ६५ प्रतिशतसम्म रहेको बताइएको छ ।

